बालविकास कक्षा । तस्बिर : एआई
काठमाडौँ- पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा ईसीडी (बालविकास) सहजकर्ताको सेवासुविधा वृद्धि गरेको छ।
आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत गाउँपालिकाले शैक्षिक क्षेत्रमा कार्यरत कर्मचारीहरूको मनोबल उच्च बनाउने उद्देश्यले मासिक सेवासुविधा बढाउने निर्णय गरेको हो।
संशोधित तलब संरचनाअनुसार विद्यालयका लेखापालको मासिक सेवासुविधामा ५ हजार रुपैयाँ वृद्धि गरी २७ हजार रुपैयाँ कायम गरिएको छ। त्यसैगरी माध्यमिक तहका कार्यालय सहयोगीको मासिक सुविधा २ हजार रुपैयाँले बढाएर १९ हजार रुपैयाँ पुर्याइएको छ।
यस्तै, आधारभूत तहका कार्यालय सहयोगीको सेवासुविधामा १ हजार रुपैयाँ वृद्धि गरी १८ हजार रुपैयाँ कायम गरिएको छ भने ईसीडी (बालविकास) सहजकर्ताको मासिक सेवासुविधा ३ हजार रुपैयाँले बढाएर २२ हजार रुपैयाँ पुर्याइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको निर्णयले सामुदायिक विद्यालयको प्रशासनिक तथा प्रारम्भिक बालविकास क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय सरोकारवालाले गाउँपालिकाको निर्णयको स्वागत गर्दै अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण जनप्रतिनिधिप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनीहरूले शिक्षामा गरिएको लगानीले गुणस्तरीय शिक्षा र समृद्ध भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।




