वाम एकतामा ढिलाइ गरे ठूलो गल्ती हुनेछ : दाहाल

हिमाल प्रेस १४ असार २०८३ १६:४२ | Sunday, June 28, 2026
14
SHARES
वाम एकतामा ढिलाइ गरे ठूलो गल्ती हुनेछ : दाहाल

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकतामा ढिलाइ गर्नु ठूलो राजनीतिक गल्ती हुने बताएका छन्।

उनले तत्काल पार्टी एकता नभए पनि राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा र बाह्य हस्तक्षेपविरुद्ध सहकार्य सुरु गर्नुपर्नेमा जोड दिए। नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले विचार मिल्ने शक्तिहरूबीच सहकार्य गर्न अनावश्यक ढिलाइ गर्न नहुने बताए। ‘आजै सम्भव छ भने आजै, भोलि सम्भव छ भने भोलि नै कार्यगत एकता गरौं भन्ने मेरो भनाइ हो, तत्काल पार्टी एकता गरौं भनेको होइन,’ उनले भने।

प्रचण्डले आफूले उठाउने ‘क्रमभंग’ को अवधारणालाई गलत ढंगले व्याख्या गर्ने गरिएको गुनासो पनि गरे। उनका अनुसार क्रमभंग भनेको प्रकृति, समाज र मानव विकासको स्वाभाविक नियम हो, यसले परिवर्तन र गतिशीलतालाई जनाउँछ।

‘निरन्तरतासँगै क्रमभंग पनि आवश्यक हुन्छ। एउटै अवस्थामा अडिएर बस्दा समाज वा आन्दोलन अगाडि बढ्न सक्दैन,’ उनले भने। उनले परिवर्तनअनुसार विचार र कार्यशैली परिमार्जन गर्न नसक्ने नेताहरूले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन नसक्ने टिप्पणी गरे। ‘केही साथीहरू अझै पुरानै सोचमा अडिएका छन्। अहिलेको बदलिएको परिस्थितिअनुसार हामी पनि बदलिनुपर्छ,’ उनले भने।

प्रचण्डले वर्तमान सरकारमाथि संविधानका आधारभूत मूल्यमान्यता र उत्पीडित समुदायका अधिकारमाथि प्रहार गर्न खोजेको आरोप लगाए। सरकारको मुख्य उद्देश्य कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउनेतर्फ केन्द्रित रहेको उनको दाबी थियो।

प्रकाशित: १४ असार २०८३ १६:४२ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast