समयले हामीलाई हिर्काउन थालेको छ,वामपन्थी एकता अपरिहार्य : पूर्वप्रधानमन्त्री खनाल 

हिमाल प्रेस १४ असार २०८३ १५:२१ | Sunday, June 28, 2026
18
SHARES
समयले हामीलाई हिर्काउन थालेको छ,वामपन्थी एकता अपरिहार्य : पूर्वप्रधानमन्त्री खनाल 

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीचको एकता अपरिहार्य भएको बताएका छन्।

नेपालको कम्युनिस्ट आन्दोलन तथा जननेता मदन भण्डारीको विचारसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै खनालले विगतमा विभिन्न कारणले कम्युनिस्ट शक्तिहरू विभाजित भए पनि अहिलेको परिस्थितिले पुनः एकताबद्ध हुन बाध्य बनाएको बताए।

उनले कार्यक्रममा आफ्नो उपस्थितिले कतिपयलाई आश्चर्य लाग्न सक्ने उल्लेख गर्दै वामपन्थी एकताको आवश्यकता नयाँ विषय नभएको बताए।

‘वामपन्थी एकता आजमात्र होइन, धेरै अघिदेखि आवश्यक थियो। तर बीचको कालखण्डमा हामीमा कहिले सिङ पलायो, कहिले जुरो पलायो। त्यसैले हामी एक हुन सकेनौं। अब समयले हामीलाई हिर्काउन थालेको छ र बाध्यात्मक परिस्थितिमा पुर्‍याएको छ। त्यसैले फेरि एकताबद्ध हुन खोजिरहेका छौं,’ उनले भने।

खनालले यही अवसरबाट दीर्घकालीन वाम एकताको प्रक्रिया अघि बढाउन आग्रह गर्दै त्यसबाट मात्रै देशमाथि भइरहेको बाह्य हस्तक्षेप र साम्राज्यवादी गतिविधिको प्रभावकारी प्रतिरोध गर्न सकिने धारणा राखे।

यसै कार्यक्रममा उनले जननेता मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्ण हत्या भएको दाबी पनि गरे। कार्यक्रममा बोल्दै उनले उक्त घटना अत्यन्त रहस्यमय, कायरतापूर्ण र योजनाबद्ध रूपमा भएको बताए।

उनका अनुसार घटनाको वास्तविक दोषीको पहिचान आजसम्म हुन नसक्नु आफ्नै कमजोरी हो। तर भण्डारीमाथि रचिएको षड्यन्त्र नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्यले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले गरेको दाबी गरे।

‘यो षड्यन्त्र मदन भण्डारीमाथि मात्र होइन, सिंगो कम्युनिस्ट आन्दोलनविरुद्ध लक्षित थियो। यस्तो षड्यन्त्र अहिले पनि जारी रहेकाले सबै सतर्क भएर अघि बढ्न आवश्यक छ’ उनले भने।

प्रकाशित: १४ असार २०८३ १५:२१ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast