काठमाडौँ- त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। पहिलो चरणको छनोट (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण शुक्रबारदेखि सुरु भएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार पहिलो दिन त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण समानान्तर रूपमा सञ्चालन गरिएको छ। बाँकी पाँच विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता भोलि र पर्सि हुनेछ।
सरकारले पहिलो पटक ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार सबै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया एउटै मापदण्डबाट अघि बढाएको हो।
मन्त्रालयका अनुसार उम्मेदवारको कार्ययोजना, नेतृत्व क्षमता, शैक्षिक दृष्टिकोण तथा प्रस्तुतीकरणका आधारमा विषयगत विज्ञहरूले मूल्यांकन गर्नेछन्। विज्ञहरूले दिएको अंकका आधारमा उपकुलपति छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारको नाम छनोट गरी कुलपतिसमक्ष सिफारिस गर्नेछ।
सरकारले गत वैशाख २४ गते आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको अध्ययन र मूल्यांकनपछि योग्य उम्मेदवारलाई सर्टलिस्टमा राखी अहिले अन्तर्वार्ता तथा प्रस्तुतीकरण सुरु गरिएको हो।
मन्त्रालयले छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र वस्तुनिष्ठ बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विषयगत विज्ञहरूको प्यानल गठन गरिएको जनाएको छ।




