काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्।
शुक्रबार सम्पन्न निर्वाचनमा उनी पार्टीको महिलातर्फको उपसभापतिमा निर्वाचित भएकी हुन्। महिला उपसभापतिका लागि डा.तोसिमा कार्कीले गौतमसँग प्रतिस्पर्धा गरेकी थिइन्।
गौतमले ७८९ मत पाउँदा कार्कीले ५७२ मत पाएको बताइएको छ। त्यस्तै पार्टी महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। यसअघि उनी रास्वपाका सहमहामन्त्री थिए।
महामन्त्री पदका लागि मनिष झा, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गरेका थिए। आचार्यले ६३८ र झाले ३२४ मत पाएका छन्। त्यस्तै सागर ढकालले १२८ र गणेश कार्कीले १६४ मत पाएका छन्।
मत परिणामपछि महामन्त्रीका लागि प्रतिस्पर्धा गरेका मनिष झाले रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर आफूले उम्मेदवारी दिएको बताएका छन्। नेतृत्वले निर्वाचन प्रक्रिया स्वीकारेर अगाडि बढाएकोमा उनले धन्यवाद दिए। उनले अब आफू केन्द्रीय सदस्य र सांसदको भूमिकामा सक्रिय हुने उल्लेख गरेका छन्।
महाधिवेशनमा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा आफू पराजित भएको र परिणाम स्वीकार गरेको झाले बताएका छन्। महामन्त्री पदमा निर्वाचित भएका आचार्यलाई आफूले सकेसम्म सहयोग गर्ने उनको भनाइ छ।
त्यस्तै सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन्। शाहले ४५० मत पाउँदा ढकालले ३७२ मत पाएका छन्। सहमहामन्त्री खुलातर्फ ११ जनाले प्रतिस्पर्धा गरेका थिए।
सहमहामन्त्री महिलातर्फ निशा डांगी निर्वाचित भएकी छन्। डांगीले ७३१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वि रिमा विश्वकर्माले २४५ मत पाएकी छन्।
पदाधिकारी चयन गर्न भएको दोस्रो चरणको मतदानमा १ हजार २८९ मत खसेको थियो।




