युवा र महिलालाई केन्द्रमा राखेर सदस्यता अभियान चलाउन सहमहामन्त्रीको निर्देशन

हिमाल प्रेस १२ असार २०८३ १०:४६ | Friday, June 26, 2026
8
SHARES
युवा र महिलालाई केन्द्रमा राखेर सदस्यता अभियान चलाउन सहमहामन्त्रीको निर्देशन

धनकुटा- महाधिवेशनको तयारी गर्दै नेपाली कांग्रेसले धनकुटामा १८ देखि ३५ वर्ष उमेर समूहका युवा र महिलालाई लक्षित गरी विशेष क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गरेको छ।

कांग्रेसकी सहमहामन्त्री डा.डिला संग्रौलाले धनकुटामा नयाँ क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यताको अध्यावधिक कार्यको अनुगमन गर्दै वडावडासम्म पुगेर अभियानलाई प्रभावकारी बनाउन पार्टीका नेताकार्यकर्तालाई निर्देशन दिइन्।

उनले पार्टीमा युवाको सहभागिता र महिलाको प्रतिनिधित्व बढाउने उद्देश्यले विशेष प्राथमिकताका साथ सदस्यता वितरण भइरहेको बताउँदै निर्धारित असोजमै महाधिवेशन सम्पन्न गराउने तयारीअनुसार सदस्यता वितरण र अध्यावधिकको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिइन्। पार्टी पूर्ण एकताका साथ महाधिवेशनतर्फ अघि बढिरहेको उनको भनाइ थियो।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य सुरेश सुब्बाले विशेष महाधिवेशनपछि पार्टी नयाँ ऊर्जा र उत्साहका साथ संगठन विस्तारमा सक्रिय भएको बताए।

जिल्लाका ६० वटै वडामा युवा र महिलालाई केन्द्रमा राखेर नयाँ सदस्यता वितरण र पुराना सदस्यताको नवीकरण अभियान सञ्चालन भइरहेको जिल्ला कार्यसमितिले जनाएको छ। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न सुझावसमेत दिएका थिए।

अनुगमन कार्यक्रममा जिल्ला सचिव विजय सन्तोष राई, महासमिति सदस्य, जिल्ला पदाधिकारी, जनप्रतिनिधि, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल महिला संघका प्रतिनिधि तथा विभिन्न वडाका सभापतिहरूको सहभागिता रहेको थियो। नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष संजय सन्तोषी राईसहित सञ्चारकर्मीहरूको पनि उपस्थिति थियो।

जिल्ला सचिव विजय सन्तोष राईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सहसचिव रोशन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १२ असार २०८३ १०:४६ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast