काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित केन्द्रीय सदस्य समीक्षा बास्कोटाले उपसभापति पदको उम्मेदवारी फिर्ता लिएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै बास्कोटाले संस्थालाई अझ एकताबद्ध बनाउन र सही लयमा अघि बढाउन आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुने विश्वासका साथ उम्मेदवारी फिर्ता लिएको बताएकी हुन्।
‘कहिलेकाहीँ संस्थालाई अझ एकताबद्ध बनाउन र सही लयमा अघि बढाउन केवल दाबी गर्नु मात्र होइन, आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुन्छ। यही विश्वासका साथ मैले उपसभापति पदमा उम्मेदवारी दिने आफ्नो निर्णय फिर्ता लिएको छु,’ उनले उल्लेख गरेकी छन्।
यससँगै बास्कोटाले रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनबाट आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेकी छन्।
रास्वपाको प्रथम महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् भने पदाधिकारी चयनको प्रक्रिया जारी छ।




