विवादमा जिसस महासंघको चुनाव : अदालतको आदेशपछि मधु आचार्यको भूमिकामाथि प्रश्न

हिमाल प्रेस १२ असार २०८३ ९:५१ | Friday, June 26, 2026
4
SHARES
विवादमा जिसस महासंघको चुनाव : अदालतको आदेशपछि मधु आचार्यको भूमिकामाथि प्रश्न

काठमाडौँ– उच्च अदालत पाटनले जिल्ला समन्वय समिति (जिसस) महासंघ नेपालको अध्यक्षमा ऋषिदेव फुयाललाई निर्विरोध निर्वाचित घोषणा गर्ने निर्वाचन समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय चन्द्रबहादुर सारु र दीपककुमार खरेलको संयुक्त इजलासले रिट निवेदक सन्तोष बुढाथोकीले दायर गरेको उत्प्रेषणयुक्त परमादेशको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै बुधबार उक्त आदेश दिएको हो।

अदालतले महासंघको विधान, २०५२ (संशोधनसहित) को दफा २८ अनुसार अध्यक्ष पदका लागि सन्तोष बुढाथोकी र ऋषिदेव फुयाल दुवैको उम्मेदवारी कायम भई उम्मेदवारको सूचीसमेत प्रकाशन भइसकेको अवस्थामा बुढाथोकीले उम्मेदवारी फिर्ता लिएको वा उनी अयोग्य रहेको भनी कुनै विधिसम्मत निर्णय भएको नदेखिएको उल्लेख गरेको छ।

आदेशमा अध्यक्ष पदमा दुई उम्मेदवार कायम रहँदा निर्वाचन गराई परिणाम घोषणा गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत कुनै कानुनी आधारबिनै निर्वाचन समितिले फुयाललाई निर्विरोध निर्वाचित भएको भन्दै २०८३ जेठ २८ गते सूचना प्रकाशित गरेको र महासंघले असार १ गते शपथग्रहणका लागि पत्राचार गरेको देखिएको उल्लेख छ।

अदालतले उक्त सूचना र पत्राचार पहिलो दृष्टिमै कानुनविपरीत देखिएको ठहर गर्दै सुविधा र सन्तुलनको सिद्धान्त का आधारमा रिटको अन्तिम टुंगो नलागेसम्म फुयाललाई निर्विरोध निर्वाचित घोषणा गर्ने सूचना तथा शपथग्रहणसम्बन्धी पत्राचार कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षीका नाममा उच्च अदालत नियमावली, २०७३ को दफा ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको हो।

मधु आचार्यको भूमिकामाथि प्रश्न!

महासंघको नेतृत्व चयन विवादसँगै नेपाली कांग्रेसका नेता मधु आचार्यको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। रिट निवेदक सन्तोष बुढाथोकी पक्षले अध्यक्ष पदका लागि बहुमत परिषद् सदस्यहरूको समर्थन आफूलाई रहेको दाबी गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्थामा आचार्यले हस्तक्षेप गरेर ऋषिदेव फुँयाललाई निर्विरोध घोषणा गरिएको आरोप लगाएको छ।

उच्च अदालत पाटनले पनि अध्यक्ष पदमा दुई उम्मेदवार कायम रहेको अवस्थामा निर्वाचन प्रक्रिया पूरा नगरी एक उम्मेदवारलाई निर्विरोध घोषणा गरिएको कार्य पहिलो दृष्टिमै कानुनविपरीत देखिएको भन्दै अन्तरिम आदेश जारी गरेपछि नेतृत्व चयन प्रक्रियामाथि थप प्रश्न उठेको हो।

बुढाथोकी पक्षका अनुसार मधु आचार्यले आफू नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको उपप्रमुख रहेको उल्लेख गर्दै सोही लेटरहेडमा हस्तलिखित पत्रमार्फत ऋषिदेव फुँयाललाई अध्यक्ष, सन्तोष बुढाथोकीलाई प्रवक्ता तथा अन्य पदाधिकारीहरूको नाम निर्वाचन समितिमा पठाएका थिए।

महासंघको विधानमा प्रवक्ता पदको व्यवस्था नरहेको, महासचिवलाई आवश्यकताअनुसार प्रवक्ताको जिम्मेवारी दिन सकिने मात्र उल्लेख भएकाले विधानमै नभएको पद सिफारिस गरिएको विषयमा पनि प्रश्न उठाइएको छ।

बुढाथोकीले नेतृत्व चयन परिषद् सदस्यहरूको मतबाट हुनुपर्ने भन्दै आफू उम्मेदवारीबाट पछि नहटेको बताए। उनले भने, ‘देशभरका परिषद् सदस्यहरूको भावनाविपरीत सीमित व्यक्तिको निर्णयबाट नेतृत्व चयन गर्ने प्रयास भएपछि न्यायका लागि अदालत जानुपरेको हो।’

प्रकाशित: १२ असार २०८३ ९:५१ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast