काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले महाधिवेशन प्रतिनिधिहरूलाई पदाधिकारी चयनका लागि हुने मतदानमा सहभागी नभई घर नफर्किन आग्रह गरेकी छन्।
रास्वपाको महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न हुने क्रममा रहेको छ भने दोस्रो चरणमा पदाधिकारीहरूको निर्वाचन हुने छ।
कार्कीले केही प्रतिनिधिहरूलाई दोस्रो चरणको मतदानबारे पर्याप्त जानकारी नपुगेको जस्तो लागेको बताइन्। सूचना प्रवाहको क्रममा कतै कमजोरी भएको हुन सक्ने उनको भनाइ छ।
उनले पदाधिकारी चयनका लागि पनि महाधिवेशन प्रतिनिधिहरूले नै मतदान गर्नुपर्ने भएकाले सबै प्रतिनिधिलाई दोस्रो चरणको मतदानमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिन्।
‘पहिलो चरणमा केन्द्रीय सदस्य चयन हुन्छ। त्यसपछि पदाधिकारीका लागि मतदान हुन्छ। त्यसैले सबै प्रतिनिधिहरूले दुवै चरणको मतदानमा सहभागी हुनुपर्छ,’ कार्कीले सामाजिक सञ्जालमा भनिन्।
पहिलो चरणको मतदान इलेक्ट्रोनिक प्रणालीमार्फत भइरहेको र मतदान सम्पन्न भएपछि छोटो समयमै मतगणना सकिने उनले जानकारी दिइन्। त्यसलगत्तै पदाधिकारीका उम्मेदवारहरूले आफ्नो दाबी प्रस्तुत गर्ने र दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु हुने उनले बताइन्।
‘सबै प्रतिनिधिज्यूहरूलाई धैर्य गर्न अनुरोध छ। मतदान नगरी नफर्किनुहोस्। सूचना केन्द्रदेखि प्रदेश, जिल्ला र पालिकासम्म पुग्ने क्रममा कतै कमजोरी भएको हुन सक्छ। यसलाई सुधार्दै सबैलाई सही जानकारी पुर्याउन आवश्यक छ,’ उनले भनिन्।




