गोरखा- गोठ नजिकैको इसराङ भीरबाट खसेको भेडा समात्न हाम्फालेका चुमनुब्री ३ पाङसिङका ६७ वर्षीय लारा गुरुङ फर्किएनन्। भेडा जोगाउन खोज्दा जीवन गुमाएका लारा न पहिलो व्यक्ति हुनुहुन्छ, न अन्तिम। उनको कथाले उत्तरी गोरखाको भेडा गोठालाको जीवन कति जोखिमपूर्ण छ भन्ने सवाल उजागर गरेको छ।
समुद्री सतहबाट चार हजार मिटरभन्दा माथिको लेक, खर्कको बसाई, बेलाबेला खस्ने सुख्खा पहिरो तथा बाटोमा ढुङ्गा खस्ने समस्या, भौगोलिक कठिनाइ पनि उस्तै छ।
जनशक्ति पलायनजस्ता समस्याले भेडागोठालाको जीवन झनै कष्टपूर्ण बन्दै गएको गोठालाहरुको गुनासो छ। यतिबेला उत्तरी गोरखाका भेडागोठालाहरु लेकतिर गोठ लैजाँदैछन्। उँधौलीका बेला गोरखाको आरुघाट, धादिङको बसेरी, सल्यानटार तथा लमजुङको बाहुनडाँडा, विचौरसम्म फैलिएका उत्तरी गोरखाका गोठहरु उँभौली लागेपछि फेरि विस्तारै लेकतर्फ लैजाँदै गरेका हुन्।
पाङसिङ गोरखाको सबैभन्दा धेरै भेडापालन गर्ने गाउँ हो। त्यसैले यो भेडा गोठालाहरुको गाउँका रुपमा पनि चिनिन्छ। करिब १५० घरधुरी रहेको पाङसिङमा ७० घरधुरीका बासिन्दा भेडापालनमा संलग्न छन्। पाङसिङको भेडीगोठ अहिले गाउँको माथिल्लो लेकमा रहेको त्यहाँका भेडागोठाला रोहन गुरुङ बताउँछन्।
भेडीगोठमै जन्मेहुर्केका उनसँग अहिले करिब तीन सय भेडा छन्। ‘एक महिना जति भयो यता आ’को,अहिलेसम्म गाउँ आसपासको लेकतिर छौं। विस्तारै अझै माथिल्लो लेकहरुमा जान्छौँ,’ उनले भने, ‘अब विस्तारै–विस्तारै गाउँबाट दुई–दिनको बाटो टाढाको लेक, बुद्ध हिमालको फेदतिर पुग्छौ।’ गाउँका कैयौं गोठाला युवा साथीहरू वैदेशिक रोजगारीमा गए पनि आफू भने भेडीगोठमै रमाएको उनी सुनाउँछन्।
पाङसिङका रोहनजस्ता भेडागोठालाहरु हिउँदका दिनमा भेडा चराउँदै धादिङको बसेरी र लमजुङको विचौर हुँदै बाहुनडाँडासम्म पुग्छन्। बर्खामा हिमालका फेदहरुका पाटनमा बस्छन्। ‘‘ठ्याक्कै यही ठाउँ जाने भन्ने हुन्न। हाम्रो जीवन त घुमन्तेको जस्तो पो छ,’ उनी भन्छन्,‘हिँड्दै, हेर्दै, आफूलाई जता जाँदा ठीक लाग्छ,सजिलो लाग्छ त्यतै जाने हो।’
समुद्री सतहदेखि ३५ सयदेखि चार हजार मिटरसम्म अग्ला लेक, खर्क, पाटनमा जाने गरेको रोहनले सुनाए। बर्खा सुरु भएसँगै माथिल्लो लेक जाने उनीहरु दसैंं लागेपछि मात्र गाउँ आसपासमा झर्ने गर्छन्। ‘त्यतिबेला कोदो, मकैका बारीहरु खाली हुन्छ। त्यहाँ भेडा ल्याएर राख्न पाइन्छ,’ उनले भने।
भेडागोठालाको जीवन त्यति सजिलो छैन। सास्ती पनि उस्तै, खर्चिलो पनि उत्तिकै छ। सरकारी बेवास्ताको कुरा त अझ परको कुरा। ‘लेकको कथाब्यथा छुट्टै छ तर गाह्रो त बेंसी झर्दा हुन्छ,’ रोहन भन्छन्, ‘हिउँद्मा बेंसीमा घाँस पाउँदैन। हामी गोरखाको भेडा धादिङको बेंसी लैजाँदा त्यहाँ गाउँलेलाई चरनको पैसा तिर्नुपर्छ। लमजुङमा चाहिँ तिर्नु पर्दैन। त्यसैले धेरैको गोठ त्यहीँ थुप्रिन्छ। पछि–पछि त्यहाँ पनि घाँसको अभाव हुन्छ। मैले आफैँले धादिङको बेंसीमा बर्सेनि घाँसका लागि ४० देखि ४५ हजार रुपैयाँ तिरेर भेडा लैजान्छु।’
भेडापालन गाहे काम भए पनि जसोतसो गुजारा भने चलिरहेको उनी बताउँछन्। रोहनले एक वर्षमा २० देखि २५ वटा भेडा बिक्री गरेर तीनदेखि चार लाख रुपैयाँ आम्दानी हुन्छ। ‘आफ्नो मिहिनेत र खर्चको त के कुरा भो र! तीन लाखको बेचियो, चार लाखको बेचियो भन्ने मात्र हो’, उनी भन्छन्। सँगै जन्मे हुर्केका साथी विदेसिन्छन्, महिनाकै लाख कमाउँछन् तर यहाँ वर्षदिन कुरेर तीनचार लाख हात पर्छ।
पाङसिङका अर्का भेडा गोठाला माइला गुरुङका अनुसार आजभोलि भेडापालनमा युवाको मोह घट्दो छ। भेडा लेकबेंसी गर्न पनि चुनौती थपिएको उनले बताए। गोठालाको जीवन अरुले देखेको, सोचेको भन्दा धेरै कठिन हुने गरेको माइलाको अनुभव छ। ‘पहिलाभन्दा आजभोलि लेकबेंसी गर्न गाहे छ,’ उनी भन्छन्,‘धेरै ठाउँमा पहिरो जान्छ। बेला–कुबेला ढुंगा खस्दा गोठाला र भेडालाई जोखिम छ, भीरबाट खसेर, पहिरोमा परेर पनि थुप्रै भेडाहरू मर्छन्।’
अर्को मुख्य समस्या चरन क्षेत्रको अभाव हो। जलवायु परिवर्तनका कारण आजभोलि पहिले जस्तो घाँस पाउन छोडेको गोठालाहरु बताउँछन्। नयाँ विषालु झारहरु उम्रन थालेको उनीहरुको गुनासो छ। त्यस्तो घाँस खाएर पनि भेडा मरेका छन्। राम्रो घाँस खोज्दै उनीहरु टाढा, टाढा पुग्नुपर्ने बाध्यता छ। माथिल्लो लेक, खर्क र पाटनहरुमा घाँस पलाउन छाडेको माइलाको भनाइ छ। यस्तै भेडाहरुमा नयाँ रोग र प्रकोपहरु देखा पर्न थालेको उनको दुःखेसो छ। घाँसको कमी र बढ्दो नयाँ-नयाँ रोगका कारण भेडाहरुको तौल घट्ने, प्रजनन् क्षमता कमजोर हुने र उनीहरुबाट उत्पादन हुने ऊनको गुणस्तर तथा परिमाण दुवैमा गिरावट आएको उनले सुनाए।




