काठमाडौँ – नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले सरकार र शक्तिमा बस्नेहरूले गतिसँगै सन्तुलन पनि मिलाउनुपर्नेमा जोड दिएका छन्।
रास्वपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता ज्ञवालीले रास्वपाका नेताहरू सरकारमा सहभागी भएपछि देशको भूराजनीतिक जटिलता र वैदेशिक सम्बन्धको संवेदनशीलतालाई बुझिसकेको हुनुपर्ने बताए।
उनले साना गल्ती वा एउटा गलत निर्णयले पनि देशमा भूराजनीतिक दबाब बढ्न सक्ने भन्दै राष्ट्रिय हित र स्वाधीनताको रक्षाका लागि रास्वपाको जनमत सुदृढ हुनुपर्नेमा जोड दिए।
नयाँ सरकार गठन भएको करिब ८० दिन पुग्न लागेको सन्दर्भ जोड्दै नेता ज्ञवालीले सरकारका कतिपय प्रारम्भिक निर्णय र गतिविधिले लोकतन्त्र, शक्ति सन्तुलन र पारदर्शितामाथि प्रश्न खडा गरेको टिप्पणी समेत गरे। उनले ती प्रश्नहरूको जवाफ जनतालाई कामबाटै दिनुपर्ने भन्दै लोकतन्त्रलाई बलियो बनाउन रास्वपाको वाचापत्र र व्यवहार मिल्नुपर्ने बताए।
नेता ज्ञवालीले गाडीमा स्पिड बढाउन एक्सीलेटर जस्तै रोक्नका लागि ब्रेककको पनि उतिकै भूमिका हुने भन्दै गति र सन्तुलन मिलाएर अघि बढ्न रास्वपा नेतृत्वलाइ सुझाव दिए।




