कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच मंगलबार भएको खेलमा व्याटिङ गर्दै विराटनगर किङ्ग्सका खेलाडी। तस्बिर : रासस
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्सका इमरान सेखले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि सेखले ४० बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्।
ओपनर सेहान जयसूर्या टोलीको स्कोर दुई रन हुँदा पहिलो ओभरमै आउट भएपछि क्रिजमा आएका शेखले अर्का ब्याटर लोकेश बमसँग मिलेर शतकीय साझेदारी गरेका छन्। यो जारी संस्करणको पहिलो शतकीय साझेदारी हो।
एनपीएलमा यो १४औँ शतकीय साझेदारी हो। यसअघि पहिलो संस्करणमा सात र दोस्रो संस्करणमा छपटक शतकीय साझेदारी भएको थियो।
जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्सले पहिले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्।
विराटनगरले पहिलो ओभरमै ओपनर सेहान जयसूर्यालाई गुमाएको थियो। पहिलो ओभरको चौथो बलमा मोइन अलीको बलमा अनिल शाहबाट स्टम्पिङ हुनुअघि जयसूर्याले खाता खोल्न सकेनन्।
प्रतियोगितामा दुवै टोली तेस्रो खेल खेलिरहेका छन्। तीन खेलबाट दुई जित र एक हारसहित चार अंक जोडेको जनकपुर अंकतालिकाको दोस्रो स्थानमा छ। जनकपुरले पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले पराजित गरेको थियो। त्यसअघि काठमाडौँ गोर्खाजलाई आठ विकेटले हराएको जनकपुर पहिलो खेलमा भने कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।
यता विराटनगरले तीन खेलबाट एक जित र दुई हार बेहोरेको छ। दुई अंकसहित ऊ अंकतालिकाको छैटौँ स्थानमा छ। विराटनगरले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने कर्णाली याक्ससँग चार विकेट र चितवन राइनोजसँग आठ रनले हारेको थियो।



