कांग्रेस पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छ : सभापति थापा

हिमाल प्रेस ७ असार २०८३ १७:५९ | Sunday, June 21, 2026
32
SHARES
कांग्रेस पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजनीतिक प्रतिस्पर्धी दलका रूपमा स्वीकार गर्दै कांग्रेस रास्वपाको ‘दुस्मन नभई प्रतिस्पर्धी’ भएको स्पष्ट पारेका छन्। चितवनमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै थापाले उक्त कुरा बताएका हुन्। ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुस्मन होइन’, थापाले भने, ‘हामी अग्लो हुन चाहन्छौँ, तपाईंहरूको उचाइ देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ। बन्छौँ पनि एक दिन, तर तपाईंहरूलाई सानो बनाएर होइन।’

रास्वपाले छोटो समयमै प्राप्त गरेको जनमत असाधारण रहेको टिप्पणी गरे। ‘नेपालको राजनीतिमा रास्वपाले प्राप्त गरेको जनमत असाधारण छ’, उनले भने, ‘तर इतिहासमा यस्तै खालको जनमत तीनचार पटक प्राप्त भयो, तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्‍यो, दलहरूले आफूलाई सम्हाल्न सकेनन्।’

थापाले रास्वपाले प्राप्त गरेको सफलतालाई दीर्घकालीन बनाउन जिम्मेवार राजनीतिक अभ्यास आवश्यक रहेको बताए। उनका अनुसार कुनै पनि दलको उचाइ अर्को दललाई कमजोर बनाएर होइन, आन्तरिक सुधार र इमानदार अभ्यासमार्फत मात्र सम्भव हुन्छ।

उनले भने, ‘हामी तपाईँहरूको खुट्टा काटेर होइन, मन, वचन र कर्मले इमानदारीपूर्वक काम गरेर अग्लो हुन चाहन्छौँ। हामी सफा हुन चाहन्छौँ तर तपाईँहरूलाई फोहोर देखाएर होइन, आफ्नै पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ।’

थापाले विधि र लोकतान्त्रिक प्रक्रियाको पक्षमा प्रतिपक्षी दलहरूले उठाउने भूमिकाको पनि बचाउ गरे। उनले संसदीय अभ्यासमा भएको अवरोध र त्यसपछि भएका संसदीय गतिविधिको उदाहरण दिँदै लोकतान्त्रिक अभ्यासभित्र संवाद र असहमति दुवै स्वाभाविक भएको बताए।

प्रकाशित: ७ असार २०८३ १७:५९ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast