पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड २५ लाख

हिमाल प्रेस ५ असार २०८३ १९:४४ | Friday, June 19, 2026
18
SHARES
पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड २५ लाख

पोखरा- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

महानगरको १९ औँ नगरसभामा शुक्रबार महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्।

महानगरले विकास निर्माण (पुँजीगत) भन्दा प्रशासनिक र सेवा प्रवाह (चालु) तर्फ बढी रकम विनियोजन गरेको छ। कुल बजेटमध्ये ५५.१ प्रतिशत रकम चालु खर्च तथा ४४.९ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको हो।

बजेट स्रोत जुटाउन संघीय सरकारबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ वित्तीय हस्तान्तरणमार्फत प्राप्त हुने अपेक्षा महानगरको छ। सशर्त अनुदानतर्फ २ अर्ब ६१ करोड ९१ लाख, समानीकरणतर्फ ४९ करोड ३७ लाख, विशेष अनुदानतर्फ ५ करोड ५० लाख र समपूरक अनुदानतर्फ १ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

महानगरले गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त गर्ने प्रक्षेपण गरेको छ। जसमा समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार, समपूरक ६० लाख र विशेष अनुदान ४० लाख रुपैयाँ छ।

महानगरले आन्तरिक आय र राजस्व बाँडफाँडतर्फ ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। यसमध्ये महानगरको आफ्नै आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ जुटाइने जनाइएको छ।

बाँकी रकममध्ये संघीय राजस्व बाँडफाँडबाट ३४ करोड ३४ लाख ७३ हजार, प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार र स्थानीय राजस्वतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।

विकास निर्माणभन्दा प्रशासनिक र सेवाप्रवाह क्षेत्रमा बजेटको भार केही बढी देखिएको छ। गत वर्ष जेनजी आन्दोलनका कारण महानगरको कार्यालय भवन जलेर ध्वस्त भएपछि अहिले नयाँबजारस्थित वाणिज्य बैंकको भवन भाडामा लिएर कार्यालय सञ्चालित छ।

महानगरको नीति तथा कार्यक्रम बिहीबार मेयर धनराज आचार्यले सार्वजनिक गरेका थिए।प्रस्तुत बजेट नगरसभामा आवश्यक छलफलपछि पारित हुनेछ।

प्रकाशित: ५ असार २०८३ १९:४४ | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast