काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फ्रान्समा भेटवार्ता भएको छ। जी–७ शिखर सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका दुवै जनाबीच ‘साइडलाईन’ वार्ता भएको हो।
भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतीय नाविकहरुको सुरक्षा अत्यन्तै महत्वपूर्ण रहेको र स्ट्रेट अफ हर्मुज खुल्नु विश्वका लागि निकै आवश्यक भएको बताएका छन्।
भारतीय झन्डावाहक जहाजमा अमेरिकी आक्रमणमा तीन जना भारतीयको मृत्यु भएको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले भने,‘यो धेरै कडा पेसा हो र हामी यी मानिसहरुलाई माया गर्छौँ, हामी यसमा अवश्य पनि सँगै मिलेर काम गर्नेछौँ।’
प्रधानमन्त्री मोदीले पश्चिम एसियामा शान्ति स्थापना गर्न ट्रम्पले गरेका प्रयासहरुको प्रशंसा गरे।
अर्कोतर्फ ट्रम्पले प्रधानमन्त्री मोदीका बारेमा कुरा उनी ‘एक देवदूत जस्तै देखिन्छन्’ भने। ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता धेरै नजिक रहेको र प्रधानमन्त्री मोदी एकदमै ‘कडा वार्ताकार’ भएको बताए।
द्विपक्षीय बैठकपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पले पत्रकाररुसँग भेट गरे। यस क्रममा मोदीले ट्रम्पलाई भने,‘पश्चिम एसियामा शान्ति प्रयासमा जुन प्रगति भएको छ, त्यसका लागि म तपाईँलाई बधाई दिन्छु। तपाईँको यी प्रयासहरुका कारण पश्चिम एसियामा एउटा नयाँ प्रकाश देखिएको र हामी आशा गर्छौँ कि त्यहाँ स्थायी शान्ति कायम हुनेछ।’
राष्ट्रपति ट्रम्पले भारतसँग चाँडै व्यापार सम्झौता हुने जानकारी दिए।
उनले भने,‘उहाँ (प्रधानमन्त्री मोदी) धेरै कडा वार्ताकार हुनुहुन्छ। वास्तवमा उहाँ, सबैभन्दा कडा व्यक्तिहरुमध्ये एक हुनुहुन्छ। उहाँ सबैभन्दा सुन्दर देखिने मानिस हुनुहुन्छ। उहाँ धेरै राम्रो देखिनुहुन्छ, उहाँ एक देवदूत जस्तै हुनुहुन्छ। तर, वास्तवमा धेरै कडा हुनुहुन्छ। म भविष्यमा कुनै समय भारत जानेछु।’




