काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप फुटबल नेपाल टेलभिजनमार्फत् नि:शुल्क प्रशारण गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसद हमालले विश्वकप फुटबल देखाउन ‘मोनोपोली भएको बताए।
‘विश्वकप सबैको चासो विषय छ, युवाको झनै ठूलो चासो छ तर ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ’, हमालले भने, ‘मोनोपोली छ, कयौँ मानिस व्यग्र हुँदा पनि आफ्नो पहुँच पुर्याउन सकेका छैनन्।’ उनले निजी सेवा प्रदायकले पनि उठाउने आम्दानी गरिसकेको हुन सक्ने भन्दै अब निस्शुल्क गर्न आग्रह गरेका छन्। विश्वकप फुटलब नेपालमा हिमालय स्पोर्टस् एचडी च्यालनमा प्रशारण हुँदै आएको छ।
नेपालका लागि एसप्रो मिडियाले विश्वकप भित्र्याएको हो। सांसद हमालले ९ सय ९९ भने पनि मोबालमा मात्र हेर्न चाहानेले ५ सय ४९ रुपैयाँमा विश्वकप हेर्न सक्छन्। मोबाइलमा डिएसहोम गो एपबाट विश्वकप प्रत्यक्ष प्रसारण भइरहेको छ।
नेपालमा विश्वकप फुटबल प्रसारण शुल्क सन् २०२२ को तुलनामा दोब्बरले महंगो भएको देखिन्छ। सन् २०२२ मा करसहित ५ सय ६५ रुपैयाँमा विश्वकप प्रसारण भएको थियो। अघिल्लो पटक मिडिया हब प्रालिले विश्वकप भारतको भायकमसँग किनेको थियो।
यसपटक फिफाबाट सिधै विश्वकपको राइट खरिद गरिएको र डलरको मूल्य बढेका कारण विश्वकपको प्रसारण महँगो भएको एसप्रो मिडियाले बताउने गरेको छ।




