मध्यरातमा आयो सुदूरपश्चिम प्रदेशको बजेट

हिमाल प्रेस २ असार २०८३ ६:२९ | Tuesday, June 16, 2026
12
SHARES
मध्यरातमा आयो सुदूरपश्चिम प्रदेशको बजेट

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री बिक्रम सिंह धामीले सोमबार मध्यरात प्रदेश सभामा आगामी वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।

सरकारले ल्याएको यो बजेट गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा करिब ४ अर्ब २० करोडले बढी हो । गत वर्ष सरकारले ३३ अर्ब ५० करोडको बजेट ल्याएको थियो । सत्ता साझेदार दलहरूबिचको कुरा नमिल्दा दिनभर अन्योलमा परेको बजेट सहमति जुटेपछि राति साढे ११ बजेपछि मात्रै संसद्मा पेस गरिएको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ । कृषि तथा पशुपक्षी क्षेत्रमा रोजगारी सिर्जना गर्न ५५ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, उत्कृष्ट कृषकका लागि ‘भीमदत्त पन्त कृषक पुरस्कार’ का लागि १ करोड र प्राङ्गारिक मल प्रवर्द्धनका लागि १ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ । दुग्धजन्य पदार्थको विविधीकरणका लागि धुलो दूध कारखाना स्थापना गर्न ५ करोड र बाजुराको भेँडापालन तथा ऊन गलैँचा उद्योगका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधारतर्फ प्रादेशिक गौरवका सडकका लागि १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, झुलुङ्गे पुल निर्माणका लागि १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ । विश्व बैंकको सहयोगमा साइपाल, अपि र बाजुराका सडक सञ्जाल जोड्न पर्याप्त बजेटको व्यवस्था गरिएको मन्त्री धामीले बताए । कञ्चनपुरको दैजी–जोगबुढा सडकका लागि १० करोड र सडक मर्मत सम्भारका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित: २ असार २०८३ ६:२९ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast