वालेन्द्रका मन्त्रीहरूको ‘बेलगाम’ बोली

हिमाल प्रेस १ असार २०८३ २२:०१ | Monday, June 15, 2026
12
SHARES
वालेन्द्रका मन्त्रीहरूको ‘बेलगाम’ बोली

काठमाडौँ- नागढुंगा-मुग्लिङ सडक योजनाको निरीक्षण गर्न पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’ धम्की दिए। आइतबार सडक योजनाको निरीक्षण गर्न गएका मन्त्री लम्सालले आक्रोशित भएर भने, ‘यिनीहरूको यो जुन पोल छ, बिजुलीको पोलको कन्ट्र्याक्ट कहाँ छ? यो धर्तीमा कहाँ छ? त्यसलाई खोजेर यहाँ लिएर आउनू। त्यसलाई पनि यहाँ राख्नू। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन।’

उनले ठेकेदारहरूलाई राम्ररी काम लगाउनुपर्ने बताए। ‘यिनीहरूले चाँडैभन्दा चाँडै पोल सार्न पर्‍यो। यहाँका पब्लिकले धेरै दुःख पायो। उनीहरूलाई काम लगाउनपर्‍यो राम्रोसँग’, उनले भने। मन्त्री लम्सालले यसो निर्देशन दिइरहँदा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्का त्यहीँ थिए।

मन्त्रीजस्तो ओहदामा बसेका व्यक्तिले ठेकेदारको ‘खुट्टा भाँच्ने’ दिएको धम्की विवादमा परेको छ। लम्सालको यो भनाइसहितको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ।

धादिङकी प्रजिअ पाण्डेले आफूले  मन्त्री लम्सालले काम गर्न भनेर निर्देशन दिएको सुनेको बताएकी छन्। पूर्वाधार विकासमन्त्री लम्सालले दिएको अभिव्यक्ति केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले चुनाव प्रचारप्रसारका क्रममा गरेको सम्बोधनसँग ठ्याक्कै मेल खान्छ।

फागुन २१ को चुनावअघि प्रचारप्रसारका क्रममा सुदूरपश्चिम पुगेका बेला बालेन्द्रले निर्माण व्यवसायीसँग सम्बन्धित प्रसंगमा यस्तै अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो। रूखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्छ।’

त्यो बेला रास्वपाका तर्फबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार वालेन्द्रको यो अभिव्यक्तिको चर्को आलोचना भयो। रास्वपाका वरिष्ठ नेता बालेन्द्र झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेर प्रधानमन्त्रीको कुर्सीमा आसीन छन्।

वालेन्द्रले चुनाव प्रचारप्रसारका बेला दिएको अभिव्यक्तिको निर्माण व्यवसायीहरूले चर्को विरोध गरेका थिए। उनीहरूले निर्माण व्यवसायीलाई अपमानित गर्ने गरी आएको अभिव्यक्तिका लागि माफी माग्नुपर्ने माग गरेका थिए।

प्रधानमन्त्री पदमा आसीन भएयता वालेन्द्रले धम्कीपूर्ण भाषाको प्रयोग नगरे पनि संसद्‌मा अकस्मात् उपस्थित भएर सीमा सम्बन्धमा दिएको उनको अभिव्यक्ति विवादित बन्यो। ‘भारतले मात्रै होइन, नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनेर संसद्को रोस्ट्रमबाटै आएको यो विवादित अभिव्यक्तिले अझै उनलाई पछ्याइ रहेको छ। यो विवादित अभिव्यक्तिका लागि प्रधामन्त्रीले माफी माग्नुपर्ने माग राखेर विपक्षी दलहरूले झन्डै एक साता प्रतिनिधिसभा बैठक अवरूद्ध पारे।

प्रधानमन्त्री वालेन्द्र जवाफ दिन आफैँ त संसद्‌मा उपस्थित भएनन्, परराष्ट्रमन्त्रीले प्रस्टीकरण दिएपछि संसद्को अवरोध हटेको थियो। सत्ता सञ्चालनको कुर्सीमा बसेर ‘धम्कीपूर्ण’ भाषाको प्रयोग गर्ने पूर्वाधारमन्त्री लम्साल पहिलो व्यक्ति होइनन्। उनीभन्दा पहिले अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘धम्कीयुक्त’ भाषा प्रयोग गरिसकेका छन्, त्यो पनि संसद्को रोस्टमबाट प्रतिनिधिसभा सदस्यहरूका लागि।

मन्त्री लम्सालले खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्रलाई आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिएका छन्। ‘हामी यस्तै समाजतर्फ जाँदै छौँ प्रधानमन्त्रीज्यू?,’ शर्माले भिडियो सन्देशमा भनेका छन्, ‘कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्।’ उपसभापति शर्माले चुनावका बेला प्रधानमन्त्री वालेन्द्रले दिएको यस्तै खाले अभिव्यक्तिको पनि चर्चा गरेका छन्।

गत बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलका क्रममा उनले प्रश्न सोध्ने सांसदहरूलाई इंगित गर्दै धम्कीपूर्ण भाषाको प्रयोग गरेका थिए। करका विषयमा प्रश्न उठाउने सांसदहरूलाई अर्थमन्त्री वाग्लेले पुराना काण्ड सार्वजनिक हुने चेतावनी दिए। ‘तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछ,’ उनले भनेका थिए। सांसदहरूले सदनको ओज घटाउन नहुने उनको भनाइ थियो।

‘स्वर्णिम वाग्लेले कुटकुट अर्थ मन्त्रालयमा बसेर करसर चलाएर व्यापारी पोस्यो भन्ने खालका पनि सुनिए,’ वाग्लेले भनेका थिए, ‘सांसदहरूले आफ्नो गरिमा आफैँ राख्नुपर्छ, सम्मानित सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन।’ बजेटमा कर हेरफेर गरेको लागेको आरोप प्रतिवाद गर्दै उनले बेइमानी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्ने बताएका थिए।

‘मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक दुईवटा खोस्टाहरूले लेखे कि दुई अर्बको आशंका इत्यादि भने,’ वाग्लेले भनेका थिए, ‘दुई अर्ब होइन, दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि तयार छु।’

सांसदहरूको फाइल खुल्ने भनेर अर्थमन्त्री वाग्लेले दिएको चेतावनीको जवाफ सोमबार नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले दिएकी छन्। उनले एमालेको सरकार जोडिएका सबै प्रकरणको फाइल खोल्न अर्थमन्त्रीलाई चुनौती दिइन्।

अर्यालले भनिन्, ‘उहाँले फाइल खोल्ने धम्की कसलाई दिनुभएको छ? टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्, त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडीको फाइल खोलियोस्, साँच्चै कुरा बाहिर ल्याइयोस्।’ बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले गैरजिम्मेवारपूर्ण शैली अपनाएको उनले आरोप लगाइन्।

‘सरकारकै जिम्मेवार व्यक्तिहरू, सरकारकै जिम्मेवारी लिएका मन्त्रीहरू नांगै आएर आरोपित गर्ने, धम्काउने अनि रास्वपालाई कमजोर बनाउनका निम्ति विभिन्न खालका कान्डहरूका फाइल देखाउँछु भनेर जुन खालको अभिव्यक्ति दिएर धम्काइरहनुभएको छ, यो त सरासर गतल चिज छ, खेदजनक छ,’ उनले भनिन्।

काठमाडौँ-४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कांग्रेसका नेता सचिन तिमिल्सिना ठेकेदारको खुट्टा भाँचिने भन्ने पूर्वाधारमन्त्री लम्सालको अभिव्यक्तिलाई ढुंगेयुगसँग तुलना गरेका छन्। ‘कुटेर, ठोकेर, जलाएर खुट्टा भाँचेर देश बन्छ कि बन्दैन त देश बनाउने टोलीलाई थाहा होला, तर यसैगरी चलेको भए मानव सभ्यता चाहिँ ढुंगे युगमै हुन्थ्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सरकारका जिम्मेवार पदाधिकारीहरूबाटै पछिल्लो समय आइरहेको धम्कीपूर्ण र विवादित अभिव्यक्तिका कारण स्वयं रास्वपाका नेता एवं सांसद्हरूलाई असहज स्थिति सिर्जना भएको छ। प्रधानमन्त्री वालेन्द्रको सीमासम्बन्धी अभिव्यक्तिबारे एक टेलिभिजन अन्तरवार्तामा सोधिएको प्रश्नमा रास्वपा सांसद रञ्जु दर्शना नाजवाफ भइन्। प्रधानमन्त्री र सरकारका मन्त्रीहरूका तर्फबाट निरन्तर आइरहेका विवादित अभिव्यक्तिलाई रास्वपा नेतृत्व चिर्न नसक्ने अवस्थामा पुगेका छन्।

प्रकाशित: १ असार २०८३ २२:०१ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast