काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा शिक्षक तलब भत्तातर्फ बचत भएको रकमको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
केन्द्रले आइतबार जारी गरेको पत्रमार्फत आधारभूत तथा माध्यमिक तहका शिक्षकहरूको तलब भत्ताका लागि विनियोजित बजेटमध्ये खर्च नभई बाँकी रहेको रकमको विवरण पठाउन आग्रह गरेको हो।
पत्रअनुसार आधारभूत तहतर्फको बजेट शीर्षक र माध्यमिक तह शिक्षक तलब भत्ता कार्यक्रमअन्तर्गत विनियोजित रकममध्ये आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा बचत भएको रकमको यथार्थ विवरण संकलन गर्न लागिएको जनाएको छ।
केन्द्रले बचत रकमको विवरण निर्धारित ढाँचामा तयार गरी आगामी असार ३० गतेसम्म इमेलमार्फत पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ। विवरण [email protected] मा पठाउन भनिएको छ।
केन्द्रका निर्देशक निमप्रसाद ढकालद्वारा हस्ताक्षरित पत्रमा शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गरी यथाशीघ्र विवरण पठाउन स्थानीय तहलाई अनुरोध गरिएको छ।
केन्द्रका अनुसार शिक्षक तलब भत्ता कार्यक्रमअन्तर्गत खर्च नभई बाँकी रहेको रकमको यकिन तथ्यांक संकलन गरी आगामी बजेट व्यवस्थापन तथा स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले विवरण माग गरिएको हो।




