सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री

हिमाल प्रेस २८ जेठ २०८३ १५:१४ | Thursday, June 11, 2026
20
SHARES
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिवद्ध रहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट पार्दै मन्त्री खनालले नेपाल र भारतबीच सदियौँ पुरानो र खुला सिमाना रहेकोले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न दुईदेश प्रतिवद्ध रहेको बताएका हुन्।

नेपाल–भारत सिमानाअन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्सांकन हुन बाँकी रहेको र अन्य केही स्थानहरूमा ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान रहेको उनले बताए।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा उल्लेख गरेका विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धीत रहेको स्पष्ट पारे।

नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्सांकन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा ‘क्रस बोर्डर अकुपेसन’ को लगत संकलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील रहेको समेत मन्त्री खनालले बताए।

त्यस्तै उनले प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको जानकारी दिए।

उनले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट यस विषयको समाधान गर्न नेपाल सरकार सधैं प्रतिबद्ध रहेको बताए। परराष्ट्रमन्त्रीको सम्बोधनपछि राष्ट्रियसभाको अवरोध पनि हटेको छ।

प्रकाशित: २८ जेठ २०८३ १५:१४ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast