फाइल तस्बिर
काठमाडौँ- अफगानिस्तानले पाकिस्तानी सेनाले हवाई क्षेत्रको उल्लंघन गरेर आक्रमण गरेको आरोप लगाएको छ।
अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान हवाई क्षेत्रको उल्लंघन गरेको डुरन्ड लाइन नजिकैका धेरै प्रान्तहरूमा हवाई आक्रमण गरेको बताएका हुन्।
जबिहुल्लाह मुजाहिदले केही तस्बिरहरू पोस्ट गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘गएराति पाकिस्तानी सेनाले फेरि एकपटक अफगान हवाई क्षेत्रको उल्लंघन गर्यो र कुनार, खोस्त र पक्तिका प्रान्तहरूमा सर्वसाधारणका घरमा बमबारी गर्यो।’
यी आक्रमणहरूमा ११ जना बालबालिका, एक महिला र एक वृद्धको मृत्यु हुनुका साथै १४ जना महिला र बालबालिका घाइते भएको उनले दाबी गरेका छन्।
तालिबान सरकारले यी आक्रमणहरूलाई ‘मानवीय अपराध’ र ‘आक्रमणको कृत्य’ भन्दै यसको कडा निन्दा गरेको छ।
अफगानिस्तानमा तालिबान सरकार र पाकिस्तानबीच पछिल्ला केही महिनाहरूमा तनाव बढेको छ। पाकिस्तानले यसै वर्षको मार्चमा एउटा केन्द्रमा आक्रमण गरेको थियो।
अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय सहायता नियोगले उक्त आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको पुष्टि गरेको थियो र मृतकको संख्या योभन्दा धेरै हुन सक्ने बताएको थियो।




