काठमाडौँ- वरिष्ठ आख्यानकार खेमराज पोखरेलले डायस्पोरिक साहित्यलाई विदेशमा बसेर लेखिएको साहित्यका रूपमा मात्र बुझ्ने प्रवृत्ति गलत रहेको बताएका छन्।अमेरिकामा बसोबास गर्दै साहित्य सिर्जनामा सक्रिय पोखरेलले डायस्पोरिक साहित्यको केन्द्रमा प्रवासी जीवनले जन्माउने पीडा, विभेद, सांस्कृतिक द्वन्द्व र पहिचानको संकट हुनुपर्ने धारणा गरेका हुन्।
हिमालप्रेससँगको कुराकानीमा उनले नेपाल वा अन्य मुलुकका विषयमा विदेशबाट लेख्दैमा अथवा नेपालमै बसेर विदेशी समाजका विषयमा अध्ययन गरेर लेख्दैमा त्यसलाई डायस्पोरिक साहित्य भन्न नमिल्ने बताए।
पोखरेलको भनाइमा वास्तविक डायस्पोरिक साहित्यले विदेशी भूमिमा बसोबास गर्ने आप्रवासीहरूले भोग्ने मनोवैज्ञानिक, सामाजिक र आर्थिक संघर्षलाई अभिव्यक्त गर्नुपर्छ।
विदेशमा समान अवसर र समान नियमको कुरा गरिए पनि वर्ण, अनुहार वा उत्पत्तिका आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने विभेदले आप्रवासीहरूलाई निरन्तर मानसिक दबाबमा राख्ने उनको भनाइ छ।
पोखरेलले अमेरिकामा आन्तरिक उडानका क्रममा अमेरिकी परिचयपत्र हुँदाहुँदै पनि अनुहारका आधारमा सुरक्षाकर्मीले पासपोर्ट मागेको अनुभव सुनाउँदै यस्ता घटनाले प्रवासी समुदायले भोग्ने अदृश्य विभेद र पीडालाई उजागर गर्ने बताए।
उनले डायस्पोरिक साहित्यको अर्को महत्वपूर्ण पक्ष सांस्कृतिक द्वन्द्व रहेको बताए। नेपाली संस्कार र मूल्यमान्यता बोकेर विदेश पुगेका अभिभावक तथा हजुरबुबा हजुरआमाले त्यहीँ हुर्केका नयाँ पुस्ताको जीवनशैली, सोच र व्यवहारसँग सामञ्जस्य कायम गर्न संघर्ष गर्नुपर्ने अवस्था डायस्पोरिक साहित्यको महत्वपूर्ण विषय बन्न सक्ने उनको धारणा छ।
लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका पोखरेलले इतिहास लेखनभन्दा साहित्य सिर्जना बढी स्वतन्त्र र सन्तोषजनक भएको अनुभव पनि सुनाउँछन्। उनका अनुसार साहित्यले समाजका विविध अनुभव र यथार्थलाई खुला रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गर्छ।
हालसम्म सात वटा एकल लघुकथा सङ्ग्रह, दुई वटा कथा सङ्ग्रह र दुई वटा उपन्यास प्रकाशित गरिसकेका पोखरेल पछिल्लो समय उत्तर आधुनिक विषयवस्तुमा पनि लेखन गरिरहेका छन्। उनले राम्रो साहित्य सिर्जनाका लागि निरन्तर अध्ययन, अनुसन्धान र जीवनका विविध अनुभवको गहिरो अवलोकन आवश्यक पर्ने बताए।
अन्तवार्ता




