मुग्लिन-पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

हिमाल प्रेस ९ साउन २०८३ १३:४५ | Saturday, July 25, 2026
6
SHARES
मुग्लिन-पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

तनहुँ- मुग्लिन–पोखरा सडक खण्डमा तीव्र गति, चालकको थकान र वर्षाका कारण सडक चिप्लो हुँदा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएका छन्। निर्माणाधीन सडकमा विशेष गरी बिहानपख चालक निदाउने र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरी टोली बिहान ४ बजेदेखि नै सडकमा खटिन थालेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनाका मुख्य कारण पहिचान गरी त्यसलाई न्यूनीकरण गर्न प्रहरी स्वयं सडकमा खटिएर निगरानी सुरु गरिएको हो।

‘लामो दूरीका चालक थकानका कारण झुक्ने, वर्षाका कारण सडक चिप्लो हुने र त्यसमा पनि तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको पाइयो,’ उनले भन्नुने, ‘त्यसैले बिहानैदेखि सडकमा चालकलाई रोकेर मौसम, सडकको अवस्था र लेन अनुशासनबारे प्रत्यक्ष जानकारी गराउने काम भइरहेको छ।’

अभियानअन्तर्गत प्रहरीले शुक्रबार बिहान ४ बजेदेखि ७ बजेसम्म ११७ वटा सवारीसाधनका चालकलाई सडकमा रोकेर सचेतना तथा परामर्श दिएको छ । तीमध्ये ६३ वटा ठूला सवारी, ३६ वटा साना चारपांग्रे र १८ वटा दुईपांग्रे सवारीसाधन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले निर्माणाधीन सडक खण्डमा चालकको सामान्य असावधानीले ठूलो क्षति हुने भएकाले प्रहरी सक्रियता बढाइएको बताए।

‘मुग्लिन–पोखरा सडक खण्डमा विस्तारको काम भइरहेकाले धेरै ठाउँमा डाइभर्सन र चिप्लो सडक छ। यस्तो अवस्थामा तीव्र गति नियन्त्रण गर्न र चालकको थकान कम गर्न प्रहरीले सडकमा पुगेर परामर्श दिइरहेको छ,’ उनले भने।

प्रहरीले सडकको अवस्था हेरेर मात्र गति निर्धारण गर्न तथा वर्षात्को समयमा विशेष सतर्कता अपनाएर सवारी चलाउन सबै चालकलाई आग्रह गरेको छ ।यसअघि शुक्रबार दिउँसो व्यास नगरपालिका–१२ छिर्कनेमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका थिए।

प्रकाशित: ९ साउन २०८३ १३:४५ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast