पर्वतमा भारतबाट आयातित धानको बीउ प्रयोग गरेको खेतमा समस्या

हिमाल प्रेस ९ साउन २०८३ १३:२० | Saturday, July 25, 2026
4
SHARES
पर्वतमा भारतबाट आयातित धानको बीउ प्रयोग गरेको खेतमा समस्या

पर्वत- धान रोपेको एक सातामै पातको मुन्टा सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका–६ देविस्थानका किसान चिन्तित बनेका छन्। धेरै उत्पादन हुने र सुगन्धित धानको आशामा भारतबाट आयातित बीउ प्रयोग गरेका किसान अहिले समस्यामा परेका हुन्।

स्थानीय किसान ठाकुरप्रसाद भुसालले घरवरिपरि लगाएको करिब आधा रोपनी क्षेत्रफलको धानखेतीमा रोपाइँ गरेको एक सातामै पात सुक्न थालेको बताए। उनले भने, ‘धेरै फल्ने र सुगन्धित धान हुने भनिएकाले यो जातको बीउ रोपेका थियौँ। तर रोपेको केही दिनमै पात सुक्न थालेपछि चिन्ता बढेको छ।’

देविस्थानका मात्र नभई अन्य किसानका खेतमा पनि यस्तै समस्या देखिन थालेको छ। धानका बोटमा पातको मुन्टा पहेँलिँदै सुक्ने लक्षण देखिएपछि किसान रोग, बीउको गुणस्तर वा अन्य प्राविधिक कारणबारे चिन्तित बनेका छन्। समस्या बढ्दै गएपछि सम्बन्धित निकायले तत्काल अनुगमन गरी कारण पहिचान गर्नुपर्ने माग किसानले गरेका छन्।

फलेवासका अगुवा किसान भरतकुमार श्रेष्ठले सरकारले सिफारिस नगरेका तथा स्थानीय हावापानीसँग नमिल्ने धानका बीउ प्रयोग गर्दा यस्तो समस्या देखिएको हुन सक्ने बताए।

उनले भने, ‘विभिन्न ठाउँका फरक–फरक जातका धान जथाभावी रोप्दा यस्ता समस्या आउन सक्छन्। स्थानीय माटो र वातावरण सुहाउँदो जातको धान रोप्नुपर्छ। बढी उत्पादनको लोभमा अपरिचित जातका बीउ प्रयोग गर्दा किसानले जोखिम बेहोर्नुपर्छ।’

फलेवास नगरपालिकाका कृषि प्राविधिक सागर लामिछानेले नगरपालिकाले सिफारिस गरेका जातभन्दा फरक धान रोपिएका क्षेत्रमा समस्या देखिएको बताए। उनका अनुसार नगरपालिकाले हरेक वर्ष स्थानीय माटो र हावापानी सुहाउँदा जेठोबुढो र खुमल जातका धानका बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ।

‘हामीले वितरण गरेका बीउमा कुनै समस्या आएको छैन। किसानले आफैँ खरिद गरेका केही जातका धानमा समस्या देखिएको हुन सक्छ,’ उनले भने। उनले माटो र भूगोल सुहाउँदो धानको जात छनोट गरी कृषि प्राविधिकको सल्लाहअनुसार खेती गर्न किसानलाई सुझाव दिए।

पर्वत जिल्लामा धान प्रमुख खाद्यान्न बालीका रूपमा खेती हुँदै आएको छ। जिल्लामा वार्षिक करिब २० देखि २५ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ। यस वर्ष अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको भए पनि केही स्थानमा धानको पात सुक्ने समस्या देखिएपछि किसान चिन्तित बनेका छन्।

प्रकाशित: ९ साउन २०८३ १३:२० | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast