बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश

हिमाल प्रेस ९ साउन २०८३ १४:०१ | Saturday, July 25, 2026
6
SHARES
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश

काठमाडौँ- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ । महाअभियानको ६८९औँ हप्तामा आज सिनामङ्गल क्षेत्रको बागमती नदी किनारमा सफाइ गरिएको छ।

सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहर लगभग तीन मेट्रिक टन सङ्कलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । उनका अनुसार सफाइका क्रममा सङ्कलन गरिएको नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ।

सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डा।आनन्दसिंह भाट, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, बागमती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहेको उनले बताए।

अर्को हप्ता साउन १६ गते शनिबारको सफाइ कार्यक्रम गुह्येश्वरी पानी प्रशोधन केन्द्रमुनिको बागमती नदी किनारमा गरिने सफाइ महाअभियानले जनाएको छ। विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ अभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले निरन्तरता पाउँदै आएको छ।

झरी, गर्मी, जाडो, भूकम्प, कोरोना महामारी, दसैँ तिहारजस्ता चाडपर्वका दिन शनिबार परे पनि सफाइ अभियान रोकिएको छैन। यो अभियानबाट प्रभावित भई काठमाडौँ उपत्यकामा बागमतीका सबै सहायक नदीमा पनि सफाइ अभियान सुरु भइसकेका छन्।

काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी सभ्यता क्षेत्रमा पनि सफाइ अभियान सुरु भएको छ। हाल देशभर करिब १०८ भन्दा बढी स्थानमा साप्ताहिक रुपमा शनिबार सफाइ अभियान चलिरहेको छ । बागमती सफाइ महाअभियानले देशभर सफाइ जागरण फैल्याएको छ।

 

प्रकाशित: ९ साउन २०८३ १४:०१ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast