गर्मी बढेपछि उदयपुरमा गाईबस्तु चराउन पनि कठिन

हिमाल प्रेस २१ जेठ २०८३ १३:४३ | Thursday, June 4, 2026
12
SHARES
गर्मी बढेपछि उदयपुरमा गाईबस्तु चराउन पनि कठिन

उदयपुर- मनसुनमा आएको परिवर्तनसँगै त्रियुगालगायत जिल्लाका विभिन्न भागमा केही दिनयता अत्यधिक गर्मी बढेका कारण जनजीवन प्रभावित बन्न थालेको छ। अत्यधिक गर्मी बढ्न थालेपछि दिउँसो विभिन्न काममा हिँडडुल गर्न तथा गाईबस्तु चराउन जान समस्या हुन थालेको छ।

अत्यधिक गर्मीका कारण तातो हावा चल्दा कतिपय विद्यालयका विद्यार्थी कक्षाकोठामै अध्ययनकै क्रममा बेहोस भएर ढल्ने घटना देखा पर्न थालेको विद्यालयका शिक्षकले बताएका छन्।

त्रियुगा नगरपालिका-१ जोगीदह बरगाछीका स्थानीय देवीप्रसाद ढुंगानाका अनुसार एक हप्तायता अत्यधिक गर्मी बढ्न थालेपछि दिनमा गाईबस्तु चराउन जंगलपाखातिर जान कठिनाइ भएको बताउँछन्।

ढुंगाना भन्छन्, ‘एक हप्ता अगाडिसम्म दिउँसो ११:०० बजे गाईबस्तु जंगलमा लगेर चराउने गरेका थियौँ, तर अहिले अत्यधिक गर्मी बढ्न थालेपछि बिहानै गाईबस्तु जंगल लैजाने गरेका छौं।’

दिनमा घाँस दाउरा र मेलापात पनि गर्मीका कारण जान नसक्ने भएपछि घर वरिपरि शीतलमा बसेर दिन बिताउन बाध्य हुन परेको जोगीदह कङग खोलाका उमानाथ खनाल बताउँछन्।

त्रियुगा नगरपालिका-११ गाईघाट शान्ति नगरटोलका ७० वर्षीय वृद्ध होमबहादुर कार्की भन्छन्,‘केही दिनयता अत्यधिक गर्मी बढेपछि घुमघाम गर्न नसक्दा साथीसँग भेटघाट नै बन्द जस्तै भएको छ।’

त्रियुगा नगरपालिका-३ भुल्के सत्यदवी माविका शिक्षक देविका दाहालका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बेहोस भएर ढल्ने गरेका छन्। मौसम विद्हरूका अनुसार एक हप्तादेखि त्रियुगा क्षेत्रको तापक्रम ४०ं डिग्री सेल्सिएससम्म पुग्न थालेको छ।

अत्यधिक गर्मीका कारण दिनमा समेत गाईघाट बजार क्षेत्र सुनसानजस्तै हुने गरेको स्थानीय व्यवसायी रमेशलाल साह बताउँछन्।

प्रकाशित: २१ जेठ २०८३ १३:४३ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast