काठमाडौँ– पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहलाई दुईवटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले मंगलबार लिखतसम्बन्धि कसुरमा प्रमुख सिंहलाई चार लाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले जानकारी दिए।
‘झुठा विवरण पेस गरेर नागरिकता बनाएको कसुरमा भने १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ, उनले भने।
जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार वीरगञ्ज महानगरका प्रमुख सिंहलाई लिखतसम्बन्धी कसुरमा पक्राउ गरेर पर्सा जिल्ला अदालतमा पेस गरेको थियो।
पर्सा जिल्ला अदालतबाट लिखितसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि मात्रै पर्सा प्रहरीको विशेष टोलीले प्रमुख सिंहलाई मंगलबार पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो।
नगरप्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखितसम्बन्धी कसुर गरेको आरोप लागेको छ।
पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखतसम्बन्धी कसुर मुद्दामा प्रमुख सिंहसहितका तीन जनालाई सात दिनभित्र खोजतलास गरेर अदालतमा पेस गर्नका लागि अनुरोध गरेको थियो।




