बाजुरा- जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–१, भारती कौशाडीस्थित पादुका माध्यमिक विद्यालय बाढीपहिरोको उच्च जोखिममा परेको छ। गत जेठ १२ गतेको अविरल वर्षापछि माथिबाट आएको पहिरो र तल बगेको खोलाको कटानका कारण विद्यालय क्षेत्र जोखिममा परेको हो। बाढीपहिरोले विद्यालयका केही संरचनामा क्षति पुर्याएपछि विद्यार्थी र शिक्षक त्रासका बीच पठनपाठन गर्न बाध्य भएका छन्।
विद्यालयको माथिल्लो भाग भिरालो भएकाले वर्षाका बेला ठुला ढुङ्गा खस्ने र पहिरो जाने जोखिम रहेको छ। त्यस्तै, विद्यालयमुनि बगेको खोलाले वर्षायाममा तीव्र कटान गर्ने गरेको विद्यार्थी रामबहादुर कार्कीले बताए। ‘विद्यालयको माथिबाट पहिरो आउने र तलबाट खोलाले कटान गर्ने डर छ। वर्षाको समयमा त्रासकै बीच पढ्नुपर्ने अवस्था छ,’ उनले भने।
पादुका माध्यमिक विद्यालयका प्रधानाध्यापक नैन कार्कीका अनुसार मनसुन सुरु भएसँगै विद्यालयमा पठनपाठन सञ्चालन गर्न कठिन भएको छ। बाढीपहिरोले विद्यालयका १० र ११ कक्षाका कोठामा क्षति पुर्याएको उनले जानकारी दिए। ‘अहिले थोरै वर्षामै यस्तो अवस्था छ भने वर्षायामभरि के होला भन्ने चिन्ता छ। कक्षा सञ्चालन गर्दा पनि माथिबाट पहिरो खस्ने डर छ,’ प्रधानाध्यापक कार्कीले भने।
विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन हुने गर्दछ। नयाँ शैक्षिक सत्रमा करिब ३०० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् भने कक्षा ११ र १२ मा भर्ना हुने क्रम अझै जारी छ। विद्यालयमा तीन नयाँ र एक पुरानो गरी चारवटा भवन छन्। भौतिक पूर्वाधारको अभाव रहेको अवस्थामा बाढीपहिरोले विद्यमान संरचनासमेत जोखिममा पारेपछि पठनपाठन प्रभावित भएको छ।
बुढीनन्दा नगरपालिका–१ का वडा अध्यक्ष मानबहादुर कार्कीले गत वर्षदेखि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा निर्माण गरिएका पूर्वाधारमा समेत बाढीपहिरोले क्षति पुर्याएको बताए। ‘विद्यालय मात्र होइन, वडाका अधिकांश गाउँबस्ती पनि बाढीपहिरोबाट प्रभावित भएका छन्। विद्यालय आउने–जाने गोरेटो बाटोसमेत अवरुद्ध भएका छन्। धेरै परिवार विस्थापित भएका छन् र उनीहरूको व्यवस्थापन चुनौती बनेको छ,’ उनले भने।
उनले बाढीपहिरो पीडितका लागि प्रदेश र संघीय सरकारले तत्काल राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।




