इटहरी- कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन्।
कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले घोषलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन्।
सामाजिक विकास मन्त्रालयद्वारा जारी नियुक्ति पत्र अनुसार प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्यादेश, २०८१ समेत) को दफा ११ को उपदफा (१) बमोजिम उनलाई सदस्य सचिवमा नियुक्त गरिएको हो। उनको कार्यकाल २०८१ जेठ १३ गतेदेखि लागू हुने गरी ४ वर्षको रहनेछ।
सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ का स्थायी बासिन्दा घोष लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका छन्। कराँतेका अनुभवी खेलाडी समेत रहेका उनी खेलकुदको विकास र विस्तारमा क्रियाशील व्यक्तित्व हुन्।
नवनियुक्त सदस्य सचिव घोषलाई सामाजिक विकासमन्त्री महतोले बधाई दिँदै उनको कार्यकालमा प्रदेशको खेलकुद क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।




