काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले शिक्षकहरूको सम्मान शब्दमा सीमित नभई उनीहरूको जीवनस्तरमा पनि देखिनुपर्ने बताएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद धितालले नेपाली समाजमा शिक्षकलाई गुरुका रूपमा सम्मान गरिए पनि व्यवहारमा उनीहरू आर्थिक अभाव, असुरक्षा र उपेक्षाको पीडा भोग्न बाध्य रहेको बताइन्।
उनले शिक्षकलाई ईश्वरसरह पूजनीय मान्ने परम्परा भए पनि सम्मान र नमस्कारले मात्र शिक्षकको घर नचल्ने भन्दै राज्यले शिक्षकको तलब, सेवासुविधा र शिक्षा प्रणाली सुधारमा गम्भीर ध्यान दिनुपर्ने धारणा राखिन्।
‘सम्मानका शब्द जति अग्ला भए पनि शिक्षकको जीवनको आधार त्यति नै कमजोर बनाइएको छ,’ उनले भनिन्,‘तलब र शिक्षा व्यवस्था तलाउमा जमेको पानीझैँ थन्किएको अवस्थामा छ।’
सांसद धितालले शिक्षकको योग्यता, क्षमता र समर्पण प्रशंसनीय भए पनि उनीहरू सम्मानजनक जीवनबाट वञ्चित रहेको बताइन्। समाज र राज्य दुवैले शिक्षकसँग निरन्तर अपेक्षा मात्र राख्ने तर आवश्यक सहयोग र सुविधा उपलब्ध गराउन नसकेको उनको भनाइ थियो।
‘जहाँ शिक्षकको सम्मान हुँदैन, त्यो देश कसरी सभ्य, चेतनशील र समृद्ध बन्न सक्छ ?’ भन्दै उनले शिक्षकहरूको मनोबल बढाउने नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरिन्।




