‘सभापतिले पार्टीलाई कमजोर बनाउनुभयो’

हिमाल प्रेस १० जेठ २०८३ १९:२९ | Sunday, May 24, 2026
8
SHARES
‘सभापतिले पार्टीलाई कमजोर बनाउनुभयो’

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षले विभिन्न प्रदेशहरूमा कार्यक्रम सञ्चालन गरिरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा समूह पनि शक्ति सञ्चयको कसरतमा जुटेको छ।

शनिबार पोखरामा ‘नेपाली कांग्रेसका बृहत्तर एकता पुनर्जागरण’ कार्यक्रम गरेको देउवा समूहले आइतबार सुदूरपश्चिमको धनगढीमा भेला गरेको हो। संस्थापन समूहले केही दिनअघि सुदूरपश्चिममा कार्यक्रम गरेको थियो।

विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व गगन थापाको हातमा पुगेपछि औपचारिक रुपमै दुई चिरामा विभाजन भएको कांग्रेसका संस्थापन र तत्कालीन संस्थापन आ–आफ्नै ढंगबाट अगाडि बढिरहेको छ।

पार्टी एकताका लागि कार्यक्रम गरेको भने पनि दुवै समूहले छुट्टाछुट्टै भेलाहरू गरिरहेका छन्। १५ औँ महाधिवेशनको तयारीस्वरूप भेला भइरहेको दुवै समूहले दाबी गरिरहे पनि यस्ता गतिविधि पार्टी हितमा नरहेको कांग्रेसकै नेताहरूको भनाइ छ। ‘समानान्तर’ ढंगबाट भइरहेका गतिविधिहरूले अन्ततः पार्टीलाई नै धक्का पु¥याउने भनाइ नेताहरूको छ। पछिल्लो समय चलिरहेको गतिविधिले पार्टी नै विभाजन हुनसक्ने अनुमान पनि धेरैले गरेका छन्।

तर, सुदूरपश्चिमको भेलालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीमा कुनै विग्रह ल्याउनका लागि भेला नभएको दाबी गरे। पार्टीलाई एकताबद्ध बनाएर थप संगठित गर्न भेला आयोजना गरिएको उनको भनाइ थियो।

नेपाली कांग्रेसलाई विगतको जस्तै सबैभन्दा ठूलो लोकतान्त्रिक र सशक्त पार्टीको रुपमा स्थापित गर्न तथा बृहत्त एकता कायम राख्न यो भेलाको आयोजना भएको लेखकले बताए। उनले जेनजी आन्दोलनपछि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा पार्टीमा आएको विग्रह र समस्याकै कारण निर्वाचनमा हार बेहोर्नुपरेको जिकिर गरे।

लेखकले पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्रका लागि ठूलो योगदान गरेको भन्दै राजनीतिमा उनको सम्मानको वातावरण तयार हुनुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गरेका नेताहरूले सभापति थापा नेतृत्वको संस्थापन समूहले पार्टीलाई एकपक्षीय रुपमा अघि बढाएको आरोप लगाए। लेखकले एकताका लागि भेला भएको दाबी गरे पनि सहभागी नेताहरूको भनाइ संस्थापन पक्षविरुद्धको राजनीतिक सन्देशका रुपमा प्रस्तुत भएको थियो।

भेलामा बोल्ने अधिकांश नेताहरूले सभापति थापाले पार्टीलाई कमजोर बनाएको आरोप लगाए। पार्टीमा दुवै समूहका नेताहरुलाई जिम्मेवारी र भूमिका दिनुपर्ने उनीहरूको भनाइ थियो।

सुदूरपश्चिम प्रदेशका पार्टी सभापति बलबहादुर बलायरले पार्टीमा देउवा समूहका नेताहरूले पनि सम्माजनक भूमिका पाउनुपर्ने जिकिर गरे। पार्टीको बल वडा तहबाट आउने बताउँदै उनले वडाध्यक्षहरुको निर्णयलाई बेवास्ता गरेर पार्टीको जरा कमजोर पारिएको आरोप लगाए। बलायरले पार्टी एकताको जिम्मेवारी सभापति थापाकै हातमा रहेको उल्लेख गरे।

भेलामा एनपी साउद, नैनसिंह महर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्ट, सामाजिक विकासमन्त्री मेघराज खड्कालगायतका नेताहरूको सहभागिता थियो।

प्रकाशित: १० जेठ २०८३ १९:२९ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast