तीव्र गतिले ५० प्रतिशत बढी दुर्घटना

हिमाल प्रेस १० जेठ २०८३ १५:१० | Sunday, May 24, 2026
6
SHARES
तीव्र गतिले ५० प्रतिशत बढी दुर्घटना

काठमाडौँ- वैशाखमा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार गत वैशाख महिनामा देशभर दुई हजार २९४ दुर्घटना भएकामा एक हजार २५३ दुर्घटना तीव्र गतिका कारण भएको थियो।

सो अवधिमा १३७ दुर्घटना चालकको असक्षमता, १३३ दुर्घटना हतारमा बाटो काट्नु, ११२ दुर्घटना मादक पदार्थ सेवा तथा ४६ वटा दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए।

दुर्घटनामा १५८ पुरुष, ५४ महिला र २७ बालबालिका गरी २३९ जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ। ती दुर्घटनामा परी ७५२ जना गम्भीर तथा तीन हजार २२० जना सामान्य घाइते भएका छन्।

वैशाख महिनामा ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध एक लाख ३७ हजार ९४ वटा कारबाही भएको छ भने सोबापत रु ११ करोड ८२ लाख ७४ हजार १८९ राजस्व असुली भएको छ। सो अवधिमा भएका ती दुर्घटनामा तीन हजार ३३४ वटा सवारी साधन संलग्न भएका थिए। सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए।

साँझ ६ देखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ। सो समयमा ८५९ दुर्घटना भएका थिए। यस्तै मध्याह्न १२ देखि साँझ ६ बजेसम्म ८५०, बिहान ६ देखि मध्याह्न १२ बजेसम्म ५०६ तथा मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्म ७८ वटा दुर्घटना भएको प्रहरी तथ्यांकले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन्। बागमती प्रदेशमा दुई र काठमाडौँ उपत्यकामा एक जनाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० जेठ २०८३ १५:१० | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast