दुर्गापूजामा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु

हिमाल प्रेस १ कार्तिक २०८३ २०:०५ | Sunday, October 18, 2026
12
SHARES
दुर्गापूजामा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भारतको कोलकातामा अत्यधिक भीडको दबाबले दुर्गापूजा मण्डपको निकासद्वार भत्किएपछि भागदौड हुँदा छरिएका जुत्ताचप्पल। तस्बिर स्रोत : पीटीआई

काठमाडौँ- भारतको कोलकातास्थित एउटा दुर्गापूजा मण्डपमा किचिएर कम्तीमा १९ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारअनुसार केही महिनाअघि भारतीय जनता पार्टी (भाजपा) को नियन्त्रणमा रहेको समितिले बलपूर्वक आफ्नो नेतृत्वमा लिएको मण्डपमा यो घटना भएको हो। वर्षाले भिजेको भीड साँघुरो निकासबाट बाहिर निस्कने क्रममा भागदौड मच्चिएको थियो।

उत्तर कोलकाताको चोरबागान सार्वजनिक दुर्गापूजा मण्डपबाहिर मुख्य संरक्षकका रूपमा देबदीप अधिकारीको नाम उल्लेख गरिएको छ। देवदीप पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीका भतिजा हुन्।

९१औँ वर्षमा प्रवेश गरेको चोरबागान सार्वजनिक दुर्गापूजाको व्यवस्थापन यस वर्ष नयाँ समितिले आफ्नो हातमा लिएको थियो। जोरासाँकोका भाजपा विधायक विजय ओझाको अध्यक्षतामा बनेको उक्त समितिले पुरानो समितिलाई राजीनामा दिन बाध्य पारेको थियो। पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीका भतिजा देवदीप अधिकारी पनि उक्त पूजासँग सम्बन्धित छन्।

गत सोमबार मण्डप उद्घाटन गर्दै सुवेन्दुले यसलाई सनातनी पूजा भन्दै प्रशंसा गरेका थिए।

अतिरिक्त प्रहरी आयुक्त (अपराध) कुनाल अग्रवालले लिखित वक्तव्यमा भने, ‘शनिबार साँझ करिब ७ बजेर ४० मिनेटमा वर्षाका बेला मण्डप हेर्न आएका मानिसको अत्यधिक भीडका कारण गिरीश पार्क प्रहरी वृत्तअन्तर्गत पर्ने सारदा पार्क (चोरबागान) पूजा मण्डपको निकासद्वारमा भागदौडको घटना भयो।’

सबै घाइतेको उद्धार गरी कोलकाता मेडिकल कलेज पुर्‍याइएको उनले बताए। उद्धारका लागि प्रहरी नियन्त्रण कक्ष, दमकल, कोलकाता प्रहरी, विपद् व्यवस्थापन समूह तथा चिकित्सकीय टोलीसहितका एम्बुलेन्स परिचालन गरिएको थियो। घाइते करिब ३५ जनालाई मेडिकल कलेज अस्पताल पुर्‍याइएको छ।

मृतकमा सात वर्षीय बालक र कैयौँ किशोरकिशोरी छन्। घाइतेलाई आरजी कर मेडिकल कलेज तथा अस्पतालमा पनि लगिएको थियो। गम्भीर अवस्थाका ११ जनालाई पछि एसएसकेएम अर्थात् सेठ सुखलाल करनानी स्मृति अस्पतालमा सारिएको थियो।

स्थानीय बासिन्दा अनुप गुप्ताले आफू र अन्य युवाले सहयोगका लागि चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ दौडिएको बताए। उनका अनुसार प्रहरीले खटाएका गेरुवावस्त्रधारी केही स्वयंसेवक भने उनीहरूभित्र पस्दै गर्दा आत्तिएर बाहिर निस्किरहेका थिए।
‘भित्र हामीले जे देख्यौँ, त्यो कल्पनै गर्न नसकिने थियो। नयाँ लुगा लगाएको एउटा बालकको कुल्चिएको शव उसकी आमाको शवको छेउमा थियो। केही मानिस बेहोस थिए, केही पीडाले कराइरहेका थिए। हामीले एकपछि अर्को गर्दै शव बाहिर निकाल्यौँ’, उनले भने।

भीआईपी र राजनीतिक नेताहरूका गाडी सडकभरि राखिएकाले एम्बुलेन्स घटनास्थलसम्म पुग्न नसकेको उनले बताए। केही घाइतेलाई मोटरसाइकल र मोबाइल एपमार्फत बोलाइएका ट्याक्सीमा अस्पताल पुर्‍याइएको थियो। घटनापछि गल्लीभरि नयाँ जुत्ताचप्पल, लुगा, पानीका बोतल र झोला छरिएका थिए।

कसरी भयो घटना?

पूजामण्डप राममन्दिरनजिकै उत्तर कोलकाताको साँघुरा गल्लीहरू भएको क्षेत्रमा छ। मण्डप खुलेदेखि नै त्यहाँ ठूलो भीड लाग्दै आएको थियो। आगन्तुकहरू साँघुरो गल्ली हुँदै करिब ११० फिट लम्बाइ र ९० फिट चौडाइको घेराभित्र प्रवेश गर्थे।

देवीको मूर्तिलाई केन्द्रमा राखेर मण्डप बनाइएको थियो। आगन्तुकले देवीलाई चारैतिरबाट हेर्न सकून् भनेर मूर्तिको वरिपरि उचाइमा घुमाउरो मञ्चसमेत बनाइएको थियो।

शनिबार साँझ पटकपटक पानी परिरहेको थियो। वर्षाबाट जोगिन बालबालिका बोकेका महिला र वृद्धवृद्धा मण्डपभित्रै बसेका थिए। बाहिर लामबद्ध मानिस भने छानामुनिको ठाउँमा पस्न एकअर्कालाई धकेलिरहेका थिए। उचाइमा बनाइएको मञ्चमा एकैपटक ठूलो भीड जम्मा हुनुले भागदौड निम्त्याएको हुन सक्ने अनुमान गरिएको छ।

प्रत्यक्षदर्शीका अनुसार निकासद्वारमा अस्थायी सिँढी भएको ठाउँमा बाटो अत्यन्त साँघुरो थियो। छेउको पार्वती घोष लेन पनि बन्द गरिएको बताइएको छ।

राज्य सरकारका मन्त्री उमेश रायले भीडको दबाबका कारण मण्डपको फलामे संरचनाको एउटा भाग भत्किएको बताए। स्थानीय बासिन्दाका अनुसार भागदौड भइरहेका बेला कसैले संरचना भत्किन लागेको हल्ला फैलाएको थियो।

मुख्यमन्त्री सुवेन्दु अधिकारीले घटनास्थलमा रहेका एक सहायक प्रहरी आयुक्तबाट प्राप्त प्रारम्भिक जानकारी उद्धृत गर्दै निजी सुरक्षा कम्पनीले गरेको घोषणासँगै सिटी फुकिएका कारण भागदौड सुरु भएको हुन सक्ने बताए।

प्रकाशित: १ कार्तिक २०८३ २०:०५ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast