उपकुलपति र रजिष्ट्रार नियुक्तिमा यस्तो योग्यता, मन्त्रालयले जारी गर्‍यो कार्यविधि

हिमाल प्रेस १० जेठ २०८३ १०:४५ | Sunday, May 24, 2026
10
SHARES
उपकुलपति र रजिष्ट्रार नियुक्तिमा यस्तो योग्यता, मन्त्रालयले  जारी गर्‍यो कार्यविधि

काठमाडौँ- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ ले दुवै पदका लागि आवश्यक न्यूनतम योग्यता तथा मापदण्ड निर्धारण गरेको हो।

कार्यविधिअनुसार उपकुलपति पदका उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधामा विद्यावारिधि (पीएचडी), डीएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्नेछ। प्रचलित कानुनबमोजिम स्थापित विश्वविद्यालयमा प्राध्यापक पदमा नियुक्त भई कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

उम्मेदवारले शैक्षिक तथा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय दक्षता, नेतृत्व क्षमता तथा कौशल प्रदर्शन गरेको, प्राज्ञिक तथा अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेख र सन्दर्भ सामग्री प्रकाशित गरेको हुनुपर्नेछ।

त्यसैगरी, दरखास्त दिने अन्तिम दिनसम्म कम्तीमा ३५ वर्ष उमेर पूरा भएको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको तथा सार्वजनिक पदमा नियुक्ति वा मनोनयनका लागि कानुनअनुसार अयोग्य नभएको हुनुपर्नेछ।

उम्मेदवार दरखास्त दिनुअघि कुनै राजनीतिक दलको सदस्य नरहेको पनि हुनुपर्ने प्रावधान राखिएको छ।

रजिष्ट्रार पदका लागि भने मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेछ। उच्च शिक्षामा प्राध्यापन, प्राज्ञिक अनुसन्धान, स्वास्थ्य सेवाको कार्यकारी प्रशासन, नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा कम्तीमा पाँच वर्षको अनुभव अनिवार्य गरिएको छ।

कार्यविधिले सहप्राध्यापक वा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदलाई सम्बन्धित अनुभवको आधार मान्ने उल्लेख गरेको छ। उम्मेदवारले शैक्षिक, प्राज्ञिक उन्नयन वा प्रशासनिक क्षेत्रमा उत्कृष्ट व्यवस्थापन क्षमता र दक्षता प्रदर्शन गरेको हुनुपर्नेछ।

रजिष्ट्रारका उम्मेदवार सार्वजनिक पदमा नियुक्ति वा मनोनयनका लागि कानुनबमोजिम अयोग्य नभएको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा दरखास्त दिने अन्तिम दिनसम्म ३५ वर्ष पूरा भई ६१ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

मन्त्रालयले विश्वविद्यालयका प्रमुख पदाधिकारी छनोटमा पारदर्शिता, प्रतिस्पर्धा र योग्यतामा आधारित प्रणाली स्थापित गर्ने उद्देश्यले खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ।

 यस्तो छ कार्यविधि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast