राष्ट्र बैंक
काठमाडौँ- नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउण्टर तोकेर सेवा प्रदान गर्न भनिएको हो।
इजाजतप्राप्त संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपांगमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपांगमैत्री एटिएम राख्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।
यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतप्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ।
आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिलेसमेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ। क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधिसमेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ। अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ। साथै कार्यालय समयका अतिरिक्त समयमा काम गर्न कर्मचारी बाध्य नहुने र बाध्य पार्न नपाइनेसमेत निर्देशनमा उल्लेख छ।




