होन्डुरसमा लागुऔषध तस्करी मार्गको नियन्त्रणलाई लिएर द्वन्द्व, १९ जनाको मृत्यु

हिमाल प्रेस ८ जेठ २०८३ १२:२५ | Friday, May 22, 2026
6
SHARES
होन्डुरसमा लागुऔषध तस्करी मार्गको नियन्त्रणलाई लिएर द्वन्द्व, १९ जनाको मृत्यु

टेगुसिगाल्पा – उत्तरी होन्डुरसको अशान्त बाजो अगुआन क्षेत्रमा रहेको एक पाम बगानमा भएको सामूहिक हत्यामा कम्तीमा १९ जनाको मृत्यु भएको छ। प्रतिद्वन्द्वी सशस्त्र समूहबीच पाम बगान र लागुऔषध तस्करी मार्गको नियन्त्रणलाई लिएर बढेको द्वन्द्वका कारण घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

अधिकारीहरूका अनुसार बुधबार राति रिगोर्स क्षेत्रमा घटना भएको हो। उक्त क्षेत्र लामो समयदेखि लागुऔषध तस्कर समूह, सशस्त्र गिरोह तथा भूमि नियन्त्रणसम्बन्धी हिंसात्मक संघर्षका कारण तनावग्रस्त रहँदै आएको छ। स्थानीय बासिन्दाले रातभर गोलीबारीको आवाज सुनिएको बताएका छन्।

यो घटना देशमा बढ्दो आपराधिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय संसद्ले कडा सुरक्षा सुधारसम्बन्धी कानुन पारित गरेलगत्तै सार्वजनिक भएको हो। नयाँ व्यवस्थाअन्तर्गत सेनालाई सार्वजनिक सुरक्षामा प्रत्यक्ष परिचालन गर्न तथा सङ्गठित अपराध नियन्त्रणका लागि विशेष एकाइ गठन गर्न सकिने व्यवस्था गरिएको छ। साथै गिरोह तथा लागुऔषध कार्टेललाई आतङ्कवादी समूहका रूपमा वर्गीकरण गर्ने बाटो पनि खुला गरिएको छ।

राष्ट्रपति नास्री असफुराले सङ्गठित अपराधविरुद्ध कडा सुरक्षा रणनीति अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार ग्वाटेमालाको सीमावर्ती क्षेत्रमा भएको अर्को घटनामा लागुऔषध तस्करको घरमा छापा मार्न पुगेको विशेष गिरोहविरोधी टोली र तस्करबीच भएको गोली हानाहानमा चार सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

घटनास्थलबाट सबै शव निकाल्न नसकिएकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ। स्थानीय ग्रामीण समूहका एक नेताका अनुसार अगुआन उपत्यकामा मारिएका अधिकांश व्यक्ति पाम बगानमा कार्यरत किसान थिए। उनले स्थानीय बासिन्दा लामो समयदेखि सशस्त्र समूहको धम्की र त्रासबीच बाँच्न बाध्य रहेको बताए।

स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका भिडियोमा पाम बगानभित्र छरिएका र रगतले लतपतिएका शवहरू देखिएका छन्। भिडियोमा कम्तीमा नौ शव खेतभित्र फालिएको अवस्थामा देखाइएको थियो।

सुरक्षामन्त्री गर्जोन भेलास्केजले घटनास्थलको अवस्था अत्यन्त भयावह रहेको बताउँदै उच्च क्षमताका हतियार, सम्भवतः राइफल र सटगन प्रयोग गरेर हत्या गरिएको देखिएको जानकारी दिए।

अभियोजक कार्यालयकी प्रवक्ता युरी मोराले अनुसन्धान टोलीले एक स्थानबाट १३ र अर्को स्थानबाट छ शव फेला पारेको बताइन्।

सुरक्षामन्त्री भेलास्केजका अनुसार बाजो अगुआन क्षेत्र लामो समयदेखि लागुऔषध तस्करी, पाम तेल कारोबार तथा सशस्त्र समूहको प्रभावका कारण हिंसात्मक द्वन्द्वमा फसेको छ। घटनाको कारण स्पष्ट नभए पनि यसको सम्बन्ध आपराधिक सञ्जालसँग रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

ट्रुजिलो क्षेत्रका प्रहरी प्रमुख कार्लोस रोजासले विभिन्न गिरोहले अफ्रिकी पाम बगान कब्जा गरी अवैध रूपमा सञ्चालन गर्दै आएको र त्यसबाट प्राप्त आम्दानी हतियार खरिदमा प्रयोग गर्ने गरेको जानकारी दिए।

यद्यपि स्थानीय किसान सङ्गठनहरूले बहुराष्ट्रिय कृषि कम्पनीहरूलाई समेत दोष दिएका छन्। उनीहरूले ती कम्पनीहरूले आपराधिक समूहलाई संरक्षण दिएको तथा स्थानीय बासिन्दालाई विवादित जमिन पुनः प्राप्त गर्न नदिएको आरोप लगाएका छन्।

एक वरिष्ठ सरकारी अनुसन्धान अधिकारीका अनुसार यो घटना केवल भूमि विवाद नभई लागुऔषध तस्करीसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट संकेत मिलेको छ। रासस/एएफपी 

प्रकाशित: ८ जेठ २०८३ १२:२५ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast