संसद्‌मा हुम्ला र बाजुराको सीमा विवाद विषय प्रवेश

हिमाल प्रेस ७ जेठ २०८३ १३:५४ | Thursday, May 21, 2026
4
SHARES
संसद्‌मा हुम्ला र बाजुराको सीमा विवाद विषय प्रवेश

काठमाडौँ- सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरे।

‘हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको छ, राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिने विद्यार्थी, अतिआवश्यक कामका लागि जानुपर्ने सबैलाई असर परेको छ’, उनले भने,‘दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनुपर्छ।’

सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा रानीसिंह क्षेत्रको विवादका कारण धनगडी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको समूहप्रति दुर्व्यवहार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

उनले हिमाली गाउँपालिका साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरूले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयलाई प्रहरीचौकी राखेर नियन्त्रण गर्न खोज्दा दुर्व्यवहार भएको बताए। उनले त्यस क्षेत्रको नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न माग गरे।

सांसद जनकराज गिरीले यही जेठ ४ गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतलाई सांघातिक आक्रमण गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराए। यस क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरे।

सांसद वासना थापाले दैलेखको गुराँस गाउँपालिका वडा ७ मा २८ वर्षीय गणेश थापाको बुधबार राति १२:०० बजे गोठालो जाने क्रममा करेन्ट लागेर सिकिस्त घाइते भएको र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित यस्ता समस्याहरू धेरै भएकोप्रति सदनमार्फत प्राधिकरण ध्यानाकर्षण गराइन्।

प्रकाशित: ७ जेठ २०८३ १३:५४ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast