१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको बहस

हिमाल प्रेस ७ जेठ २०८३ १३:३२ | Thursday, May 21, 2026
16
SHARES
१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको बहस

बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने विषयमा सार्वजनिक परामर्श प्रक्रिया थालेको छ। सरकारले प्रस्तावबारे निर्णय लिनुअघि युवा, अभिभावक तथा संरक्षकहरूलाई आफ्ना सुझाव र प्रतिक्रिया दिन आह्वान गरेको हो। परामर्श प्रक्रिया मे २६ मा सकिनेछ। त्यसपछि सरकारले आफ्नो निर्णय सार्वजनिक गर्ने योजना बनाएको छ।

बेलायतको इजुकेसन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन माग गरेको छ। समितिले १८ वर्षमुनिका किशोरहरूमा अत्यधिक स्क्रिन प्रयोग बढाउने उद्देश्यले जानाजानी डिजाइन गरिएका फिचरहरूमाथि तत्काल नियन्त्रण गर्न पनि आग्रह गरेको छ।

समितिले यस्तो प्रतिबन्धलाई अनलाइन सुरक्षाको सुरुआती कदम मात्रै मान्नुपर्ने बताएको छ। समितिकी अध्यक्ष हेलेन हेजेले बीबीसीसँग भनिन्, ‘शिक्षा समितिको हालैको प्रतिवेदन स्पष्ट छ- सामाजिक सञ्जाल कम्पनीहरूलाई स्वयं नियमनमा भर पर्न सकिँदैन।’

बालबालिका र युवाको सुरक्षाभन्दा व्यावसायिक फाइदालाई प्राथमिकता दिइएसम्म उनीहरू सामाजिक सञ्जालका सबैभन्दा खराब पक्ष र अनलाइन हानिको जोखिममा परिरहने उनको भनाइ छ।

हेजले भनिन्, ‘१६ वर्षमुनिका लागि कानुनी रूपमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा १८ वर्षमुनिका लागि लत लाग्ने र उच्च जोखिमयुक्त फिचरमाथि नियन्त्रण मात्रै बालबालिकालाई सुरक्षित राख्ने उपाय हो।’

बेलायतको सञ्चार नियामक संस्था अफकमको नयाँ प्रतिवेदनमा टिकट र युट्युबका कन्टेन्ट फिडहरू बालबालिकाका लागि पर्याप्त सुरक्षित नभएको भन्दै आलोचना गरेको छ। यो निष्कर्ष बालबालिकाको अनलाइन सुरक्षाका लागि कडा कदम चाल्न नियामक निकायले गरेको आग्रहपछि आएको हो।

प्रतिवेदनअनुसार मेटा, स्न्याप र रोब्लक्सले बालबालिकामाथि हुने अनलाइन प्रलोभन तथा यौन शोषणसम्बन्धी जोखिम रोक्न थप कडा उपाय अपनाउन सहमति जनाएका छन्।

अफकमले न्यूनतम उमेरसम्बन्धी नियम प्रभावकारी रूपमा लागू नगरेको चिन्ताबारे सरकारसँग छलफल गर्ने जनाएको छ।

युट्युबले बालसुरक्षा विज्ञहरूसँग मिलेर बालबालिकाका लागि उद्योगकै अग्रणी र उमेरअनुसार उपयुक्त अनुभव प्रदान गरिरहेको दाबी गरेको छ। टिकटकले भने अफकमले आफ्नो सुरक्षासम्बन्धी फिचरहरूलाई स्वीकार नगरेको भन्दै अत्यन्त निराशाजनक भएको प्रतिक्रिया दिएको छ।

अफकमको यो आलोचना पाँच ठूला सामाजिक सञ्जाल तथा भिडियो प्लेटफर्महरूले बालबालिकाको सुरक्षाका लागि थप कडा संरक्षण लागू गर्न गरिएको आग्रहप्रति कसरी प्रतिक्रिया दिए भन्ने विषयमा तयार गरिएको नयाँ प्रतिवेदनको हिस्सा हो।

प्रतिवेदनमा उल्लेख छ, ‘विशेषगरी टिकटक र युट्युबले बालबालिकालाई हानिकारक कन्टेन्ट देखिन नदिन कुनै उल्लेखनीय परिवर्तन गर्ने प्रतिबद्धता जनाएनन्। उनीहरूले आफ्ना फिडहरू पहिले नै बालबालिकाका लागि सुरक्षित रहेको दाबी गरिरहेका छन्।’ अफकमका अनुसार ती प्लेटफर्महरू अझै पर्याप्त सुरक्षित नभएको संकेत गर्छन्।

यसको प्रत्युत्तरमा टिकटक र युट्युबले आफ्ना एपमा पहिल्यै लागू गरिएका सुरक्षा फिचरहरू औँल्याएका छन्। टिकटकले १६ वर्षमुनिका प्रयोगकर्ताका लागि डाइरेक्ट मेसेज सुविधा बन्द गरेको छ भने युट्युबले छोटो भिडियो सेवा ‘सर्ट्स’मा अभिभावकले टाइम लिमिट निर्धारण गर्न सक्ने सुविधा दिएको जनाएको छ।

अफकमकी प्रमुख कार्यकारी मेलेनी डोजले कम्पनीहरूले उमेर नपुगेका बालबालिकालाई आफ्ना प्लेटफर्मबाट टाढा राख्न आवश्यक कदम चाल्न अझै असफल भइरहेको भन्दै आफूहरू गम्भीर रूपमा चिन्तित रहेको बताइन्।

अफकमले गरेको एक सर्वेक्षणअनुसार ८ देखि १२ वर्ष उमेर समूहका ८४ प्रतिशत बालबालिकाले न्यूनतम उमेर सीमा १३ वर्ष तोकिएका कम्तीमा एउटा प्रमुख सेवा प्रयोग गरिरहेका छन्। यसले थप कडा कानुनी व्यवस्था आवश्यक पर्न सक्ने चेतावनीसमेत दिएको छ।

अनलाइन सुरक्षा अनुसन्धानकर्ता भिक्टोरिया बेन्सले अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रतिबन्ध लगाएपछि पनि त्यस्ता अकाउन्टहरू हटाउन सीमित सफलता मात्रै प्राप्त भएको अनुभवलाई हेर्दा यो निष्कर्ष अस्वाभाविक नभएको बताइन्।

उनले भनिन्, ‘कतिपय प्लेटफर्महरूले प्रयोगकर्ताले के हेर्छ, केमा संलग्न हुन्छ र केबारे च्याट गर्छ भन्ने व्यवहारसम्बन्धी थप डाटा प्रयोग गरेर उनीहरू वास्तवमै न्यूनतम उमेरभन्दा माथि छन् कि छैनन् भन्ने पहिचान गर्नुपर्ने हुन सक्छ।’

अफकमको प्रतिवेदनले स्न्याप, रोब्लक्स र मेटाले ग्रुमिङ जोखिम घटाउने उद्देश्यले गरेका परिवर्तनहरू पनि उल्लेख गरेको छ।

अफकमका अनुसार स्न्यापच्याटको स्वामित्वमा रहेको स्न्यापले बेलायतमा अपरिचित वयस्कहरूलाई बालबालिकासँग सम्पर्क गर्न डिफल्ट रूपमा रोक लगाउने, बालबालिकालाई नचिनेका व्यक्तिहरू एड गर्न प्रोत्साहन नगर्ने तथा यो गर्मीयामदेखि उच्च प्रभावकारी उमेर जाँच प्रणाली लागू गर्ने सहमति जनाएको छ।

स्न्यापच्याटका प्रवक्ताले प्राइभेसीको सुरक्षा कायम राख्दै प्रयोगकर्तालाई आफ्ना वास्तविक साथी र परिवारसँग सम्पर्कमा रहन दिने गरी यी उपाय लागू गरिने बताएका छन्।

प्रतिवेदनअनुसार रोब्लक्सले १६ वर्षमुनिका प्रयोगकर्ताका लागि अभिभावकले डाइरेक्ट च्याट पूर्ण रूपमा बन्द गर्न सक्ने सुविधा दिनेछ। मेटाले किशोर प्रयोगकर्ताको इन्स्टाग्राम कनेक्सन लिस्ट डिफल्ट रूपमा लुकाउने र डाइरेक्ट मेसेजमा सम्भावित यौन प्रकृतिका संवाद पत्ता लगाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित टुल विकास गर्नेछ।

बेलायतस्थित अनलाइन सुरक्षा संस्था मली रोज फाउन्डेसनका प्रमुख कार्यकारी एन्डी बरोजले प्रतिवेदनको स्वागत गर्दै ठूला टेक कम्पनीहरूलाई बालबालिकालाई रोक्न सकिने हानिबाट जोगाउने विषयमा आत्मसन्तुष्ट र पन्छिने प्रवृत्तिको आरोप लगाए।

उनले भने, ‘अफकमको मूल्यांकन अब यसले अनलाइन हानिको जोखिम कति छिटो घटाउन सक्छ भन्ने आधारमा हुनेछ। किशोरहरूलाई हानिकारक कन्टेन्टको सुनामीजस्तै प्रवाह गर्ने व्यक्तिगत एल्गोरिदममाथि सर्तसहित प्रतिबन्ध पनि आवश्यक छ।’
अफकमले कम्पनीहरूले गरेका प्रतिबद्धता अब छिटो र सही ढंगले लागू हुनुपर्ने बताउँदै त्यसमा असफल भए कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित: ७ जेठ २०८३ १३:३२ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast