काठमाडौँ- अमेरिकाको एक अदालतले सामाजिक सञ्जाल कम्पनी ‘मेटा’ लाई ५६ करोड ७० लाख अमेरिकी डलर जरिवाना सजाय सुनाएको छ।
न्यु मेक्सिकोस्थित एक अदालतले बालबालिकाको सुरक्षामा लापारबाही गरेको ठहर गर्दै मेटालाई यो सजाय सुनाएको हो।
मेटा फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप र थ्रेड्सको माउ कम्पनी हो।
अदालतका अनुसार कम्पनीले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरूबाट बालबालिकामा पर्न सक्ने सम्भावित जोखिम तथा खतराका बारेमा सर्वसाधारणलाई पर्याप्त चेतावनी दिएको थिएन। बालसुरक्षासँग जोडिएको कानुनी लडाइँमा मेटाविरूद्ध आएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो फैसला मानिएको छ।
मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश ब्रायन बिडसाइडले मेटाको कार्यशैलीलाई ‘सार्वजनिक उपद्रव’ को संज्ञा दिँदै यसको असरलाई वायु प्रदूषणसँग तुलना गरेका छन्।
अदालतले यो जरिवाना रकम एउटा विशेष कोषमा जम्मा गर्न निर्देशन दिएको छ। उक्त कोषको रकम भविष्यमा बालबालिकालाई सामाजिक सञ्जालबाट हुने जोखिम र क्षति न्यूनीकरणका लागि प्रयोग गरिनेछ।
यसअघि पनि सोही मामिलामा मेटालाई ३७ करोड ५० लाख डलर जरिवाना गराइएको थियो। पछिल्लो आदेशसँगै मेटाले भुक्तानी गर्नुपर्ने कुल जरिवाना रकम ९४ करोड २० अमेरिकी डलर पुगेको छ।
यसैबीच अदालतको यो फैसलाप्रति मेटाले कडा आपत्ति जनाएको छ।
कम्पनीका प्रवक्ताले अदालतको यो फैसलासँग आफूहरू सहमत नरहेको र यसविरूद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताएका छन्। उनले आफ्ना प्लेटफर्महरूमा प्रयोगकर्ताको सुरक्षा गर्न निरन्तर प्रतिबद्ध रहेको दाबी गरे।


