स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो : राष्ट्रपति पौडेल

हिमाल प्रेस ६ जेठ २०८३ १४:०३ | Wednesday, May 20, 2026
14
SHARES
स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो : राष्ट्रपति पौडेल सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर सौजन्य : शीतल निवास

सुनसरी– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन्। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहनाअनुरूप विकासका कार्यलाई तीव्रता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्शअनुरूपका कामलाई साकार बनाउन स्थानीय तह सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताए।

राष्ट्रपति पौडेलले भने, ‘शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ। यसतर्फ तपाईंहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु।’

राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षाअनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्य सञ्चालन गर्नु स्थानीय सरकारको महत्त्वतपूर्ण दायित्व भएको बताए।

उनले भने, ‘यसै सन्दर्भमा यो ग्रामीण क्षेत्रमा यस्तो आधुनिक तथा बहुउपयोगी सिटी हलको निर्माण हुनु निकै सराहनीय छ। यो परियोजना विकासमा तीनै तहका सरकारबीच हुने सहकार्यको राम्रो उदाहरण पनि हो।’

उनले सप्तकोशी नदीको किनारमा रहेको कोशी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै हाल कोशी गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकाले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको इतिहास स्मरण गरे।

उनले भने, ‘सप्तकोशी बाँधको समीपमा सुनसरी जिल्लाका महत्त्वपूर्ण धार्मिक स्थलहरू बराहक्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा मन्दिर छन्। तसर्थ यस क्षेत्रको भ्रमणबाट मलाई मनोरम अनुभूति पनि भएको छ। ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण यो ठाउँ पर्यटन विकासको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले यसलाई त्यही रूपमा विकास गर्न म सम्बद्ध सबै पक्षसँग आग्रह गर्दछु।’

राष्ट्रपति पौडेलले २०६५ सालमा कोशी बाँध फुट्दा बस्ती नै विस्थापित भएको यस क्षेत्रमा पुनः बस्ती स्थापना भएको र विकासका गतिविधि तीव्र रूपमा सञ्चालन भएको देख्दा आफूलाई खुशी लागेको बताए। उनले तीनै तहका सरकारको हातेमालोबाट यस बाढीपीडित तथा जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनका पूर्वतयारीका पर्याप्त व्यवस्था गर्न ध्यान पुग्ने अपेक्षा पनि व्यक्त गरे।

प्रकाशित: ६ जेठ २०८३ १४:०३ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast