रोङ गाउँपालिकाले आइतबार बिदा नदिने

हिमाल प्रेस ६ जेठ २०८३ ७:१० | Wednesday, May 20, 2026
16
SHARES
रोङ गाउँपालिकाले आइतबार बिदा नदिने

काठमाडौँ- इलामको रोङ गाउँपालिकाले आइतबार पनि सरकारी कार्यालय बन्द हुने संघीय सरकारको निर्णय अस्वीकार गर्ने भएको छ। सोमबार बसेको गाउँ कार्यपालिका बैठकले बुधबारदेखि लागू हुनेगरी सामुदायिक विद्यालयबाहेक अन्य कार्यालयहरू पुरानै समय तालिकामा सञ्चालन हुने निर्णय गरेको हो।

गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङ्बोले पहाडी जिल्लाको भौगोलिकता अनुसार सेवा प्रवाह गर्न नसकिने भन्दै आइतबार पनि बिदा दिएर सोमबारदेखि बिहान ९ बजेबाट कार्यालय संचालन गर्नु अव्यावहारिक भएको बताए । उनले ९ बजे कार्यालय लाग्ने नियम लागू भए पनि त्यस्तो नियम लागू भएको मितिदेखि हालसम्म रोङ गाउँपालिकाको कुनै कार्यालयमा १० बजे अगाडि नै सेवाग्राही उपस्थित नभएको दाबी गरे।

‘नेपाल विश्वकै धेरै सार्वजनिक बिदा दिने देशहरूमा चिनिन थालेको छ,’ उनले भने, ‘हामीले अब प्रविधिमैत्री सेवाप्रवाह गर्न ध्यान दिनुपर्छ, हाम्रो पालिकामा आइतबार बिदा दिने र सोमबार बिहान ९ बजेदेखि कार्यालय संचालन गर्ने अभ्यास असफल भएकोले यो निर्णय अस्वीकार गरेका छौं।’

उनले आगामी असार मसान्त पश्चात भने निर्णयमा पुनर्विचार गर्न सकिने बताए। असार मसान्तसम्म गाउँपालिकामा सम्पन्न गर्नुपर्ने धेरै योजनाहरू रहेको र पहाडी जिल्लामा लगातारको बिदाले समय अभाव हुने अध्यक्ष स्याङ्बोले बताए।प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च कम गर्न कर्मचारीलाई दुई दिन आराम दिने र अन्तर्राष्ट्रिय बिदाको अभ्यास अनुसार कार्यालय संचालन गर्ने भन्दै सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि बेलुका ५ बजेसम्म सरकारी कार्यालय संचालन गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष स्याङ्बोले एसियाली देशहरूमा सार्वजनिक बिदा धेरै हुने प्रवृत्ति हटाउनु पर्ने माग गरे। जर्मनी, फ्रान्स लगायतका युरोपका धेरै देशमा सार्वजनिक बिदा कम भए पनि वार्षिक तलब सहितको छुट्टी धेरै हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

 

प्रकाशित: ६ जेठ २०८३ ७:१० | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast