काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा मंगलबार बसेको सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
संसदीय सुनुवाइपछि शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन भएको हो। उनले समितिमा प्राप्त उजुरीहरु सम्बन्धित निकायमा पठाउने र समितिमा पनि अभिलेखका रूपमा राखिने बताए।
त्यसअघि संसदीय सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माले संविधानबमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवम् गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्ने जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको बताएका थिए। उनले सबै प्रकारका प्रभाव र दबाबबाट न्यायपालिकालाई स्वतन्त्र राख्ने पनि बताए। उनले अदालतमा रिट दर्ता र दरपीठ गर्ने अधिकार प्रशासनको रहेको भन्दै आफूले कुनै पनि प्रकारको दबाब नदिएको दाबी गरे। .
समिति सदस्यहरुले भावी योजना र शर्माविरुद्ध परेका उजुरीहरूबारे प्रश्न गरेका थिए।
समिति सदस्य कविन्द्र बुर्लाकोटीले अदालतलाई बिचौलियामुक्त बनाउने योजनाबारे जिज्ञासा राखेका थिए। समिति सदस्य पद्मा अर्यालले प्रधानन्यायधीश सिफारिसमा देखिएको विवादका बारेमा शर्माको धारणा माग गरेकी थिइन्।
समिति सदस्य वर्षमान पुनले नेपोबेबी, न्यायिक निरुपण तथा संक्रमणकालीन न्यायका विषयमा शर्मको धारणा माग गरेका थिए।
शर्मालाई राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको छ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई वैशाख २४ मा प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।




