काठमाडौँ- नेकपा एमालेका सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ)मा निर्माणाधीन केबलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराए। प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथीभरा केबलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गरे। केबलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचना बाहिरिएका कारण ताप्लेजुङका जनतामा अन्योल छाएको उल्लेख गरे।
सांसद थेबेले एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबिच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना माग गरे।
उनले सरकारलाई अफवाहको भरमा नभई स्पष्ट आधिकारिक निर्णयका साथ अगाडि बढ्न र सबै पक्षबिच विश्वासको वातावरण सिर्जना गर्न आग्रह गरे। सांसद थेबेले ताप्लेजुङको लुम्बिनी पुलदेखि दोभान बजार खण्डको सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति पनि कडा आपत्ति जनाए।




