काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन्।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार शनिबार साँझसम्म उक्त संख्यामा उजुरी दर्ता भएका हुन्। राष्ट्रियसभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको असहमतिका बीच संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेको थियो। नेपालको न्यायिक इतिहासमा वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको यो पहिलो पटक हो।
संसदीय सुनुवाइ विशेष समितिले वैशाख २६ गते प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागे स्पष्ट आधार, प्रमाण र सबुतसहित उजुरी दिन १० दिनको समय दिएको थियो।
उजुरी दर्ता गर्ने समय सोमबार कार्यालय समयसम्म तोकिएको छ।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार मंगलबार समितिको बैठक राखेर उजुरी खोल्ने तयारी छ। त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण हुनेछ।
समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरेपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गर्ने छ। संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्तिको बाटो खुल्नेछ।




