बिहारमा ‘वन्दे मातरम्’ नगाएमा जेल सजाय!

हिमाल प्रेस २ जेठ २०८३ १६:४५ | Saturday, May 16, 2026
12
SHARES
बिहारमा ‘वन्दे मातरम्’ नगाएमा जेल सजाय! मुख्यमन्त्री सम्राट चौधरी।

भारतको बिहारमा सम्राट चौधरीको नेतृत्वको एनडीए सरकारले राज्यका शैक्षिक संस्थानहरूमा हुने कार्यक्रममा ‘वन्दे मातरम्’ गीतलाई अनिवार्य गरेको छ। बिहार सरकारद्वारा जारी आदेशअनुसार राज्यका सबै विद्यालय, कलेज तथा मदरसासहित शैक्षिक संस्थानमा दिनको थालनी सामूहिक रूपमा ‘वन्दे मातरम्’ गानबाट गरिनेछ। त्यसपछि राष्ट्रिय गीत ‘जन-गण-मन’ सामूहिक रूपमा गाइनेछ र कक्षा सुरु हुनेछ।

राज्य सरकारका सबै कार्यक्रमहरूको थालनी पनि यी दुवै गीतबाट गरिने र समापन बिहार गीत ‘मेरे भारत के कण्ठहार’ बाट गरिने आदेशमा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सरकारी आदेशमा केन्द्र सरकारले राष्ट्रिय गीतसम्बन्धी जारी गरेको दिशानिर्देशको पालना गर्न भनिएको छ। सो अनुसार ‘वन्दे मातरम्’ का सबै छ वटा श्लोक गाउनु अनिवार्य गरिएको छ।

यस निर्णयलाई धर्मनिरपेक्षताविरुद्ध भएको भन्दै सीमाञ्चल क्षेत्रमा सक्रिय असदुद्दिन ओवैसी नेतृत्वको एआईएमआईएमले विरोध जनाएको छ। पार्टीले राष्ट्रगान र राष्ट्रगीतको सम्मान सबै नागरिकले गर्ने भए पनि जबरजस्ती गर्नु व्यक्तिगत स्वतन्त्रताविरुद्ध भएको बताएको छ।

यसअघि पनि मुस्लिम समुदायका केही वर्गले ‘वन्दे मातरम्’ प्रति आपत्ति जनाउँदै आएका छन्। विशेषगरी मुस्लिम लिगले यसको कडा विरोध गर्दै आएको उल्लेख छ। ‘वन्दे मातरम्’ संस्कृत र बंगाली भाषामा रचिएको गीत हो, जसमा कविले मातृभूमिलाई देवीका रूपमा चित्रण गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले ७ नोभेम्बर २०२५ मा ‘वन्दे मातरम्’ को १५० वर्ष पूरा भएको अवसरमा हुलाक टिकट र स्मारक सिक्का जारी गरेका थिए। त्यसपछि यस वर्ष फेब्रुअरीमा केन्द्र सरकारले नयाँ दिशानिर्देश जारी गर्दै विद्यालयमा दिनको थालनी यसको सामूहिक गायन गरिने, राष्ट्रिय झण्डा परेडमा ल्याउँदा गाइने वा बजाइने तथा राष्ट्रपति सम्बोधनअघि र पछि सरकारी प्रसारण माध्यममा पनि बजाइने व्यवस्था गरेको थियो।

एआईएमआईएमका प्रदेश अध्यक्ष अख्तरुल इमानका अनुसार ‘वन्दे मातरम्’ गान उनीहरूको धार्मिक आस्थासँग मेल नखाने भएकाले स्वीकार्य छैन। उनले सरकारमाथि धार्मिक आस्थामा हस्तक्षेप गरेको आरोप लगाएका छन्।

उनका अनुसार यो आदेशले समाजमा द्वन्द्व बढाउने काम गरेको छ र पार्टीका विधायकहरूले सडकदेखि सदनसम्म विरोध गर्ने बताएका छन्। उनले राज्य सरकारले यस्तो आदेश फिर्ता लिनुपर्ने माग गरेका छन्।

यसैबीच कानुनमा संशोधनपछि ‘वन्दे मातरम्’को अपमान पनि दण्डनीय अपराध हुने व्यवस्था गरिएको दाबी गरिएको छ। कानुनविद् राजेश के सिंहका अनुसार संशोधनपछि राष्ट्रगान सरह ‘वन्दे मातरम्’को अपमान वा अवरोध गरेमा तीन वर्षसम्म कैद वा जरिवानाको प्रावधान लागू हुन सक्छ।

इतिहासका अवकाशप्राप्त प्राध्यापक एसके पाण्डाका अनुसार केही मुस्लिम समुदायलाई गीतका ती अंशमा आपत्ति छ जहाँ देवी–देवतासम्बन्धी प्रसंग आउँछ, जसले मातृभूमिलाई देवीका रूपमा चित्रण गर्छ।

इस्लामिक मान्यताअनुसार देशप्रेम स्वीकार्य भए पनि मातृभूमिको पूजा वा वन्दना गर्नु धार्मिक रूपमा स्वीकार्य नभएकाले उनीहरूले आपत्ति जनाएका छन्।

केरलसम्बन्धी सर्वोच्च अदालतको एक निर्णयलाई उद्धृत गर्दै कुनै व्यक्तिको धार्मिक आस्थाले राष्ट्रगान वा गीत गाउन नदिए पनि उसलाई जबरजस्ती गर्न नपाइने तर्क पनि प्रस्तुत गरिएको छ। शान्तिपूर्वक उभिएर सम्मान जनाए मात्र पनि अपराध नमानिने भनाइ छ।

पत्रकार अक्षय बाजपेयीका अनुसार बिहारमा मुस्लिम जनसंख्या करिब १७ प्रतिशत छ र सीमाञ्चल क्षेत्रमा एआईएमआईएमको प्रभाव बढ्दै गएको छ। उनले यस विषयलाई राजनीतिक रूपमा विभिन्न दलहरूले सावधानीपूर्वक हेरिरहेको बताएका छन्।

प्रकाशित: २ जेठ २०८३ १६:४५ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast