काठमाडौँ- जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री एवम् राप्रपा नेता विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वमन्त्री पाण्डेसँग रु चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतले तनहुँका सञ्जय भट्ट र काठमाडौँका भाष्करराज अर्यालसँग रु १०/१० लाख, सुनसरीका जीवनकुमार दास र मकवानपुरका सागर कटुवालसँग रु पाँचपाँच लाख, नुवाकोटका प्रकाश ढुङ्गाना, काठमाडौँका अमृत बोहोरा, दोलखाका अनिल श्रेष्ठ, धादिङका टंककुमार श्रेष्ठ, सिरहाका स्वदेश पोखरेल र काठमाडौँका ऋषिकेश गौलीलाई जनही रु चार लाख धरौटीमा छाडन आदेश दिएको हो।
अदालतले उक्त प्रकरणमा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री पाण्डेसहितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही वैशाख ११ गते पक्राउ गरी २२ जनालाई प्रतिवादी बनाइएको थियो।




