काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवल शमशेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे उपर सरकारले निष्पक्ष र तथ्यगत छानबिन गर्नुपर्ने बताएका छन् । तर, अनुसन्धानकै लागि पाण्डेलाई थुनामा राख्नु न्यायसंगत र औचित्यपूर्ण नभएको उनको तर्क छ ।
‘छानबिनसँग सम्बन्धित अभिलेख राज्यकै मातहत रहेको अवस्थामा, जनताबाट पटकपटक अनुमोदित व्यक्तित्व विक्रम पाण्डेले प्रमाण नष्ट गर्ने, भाग्ने वा अनुसन्धानलाई असहयोग गर्ने आधार रहन्न,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसर्थ अनुसन्धानकै लागि थुनामा राख्नु न्यायसंगत र औचित्यपूर्ण देखिन्न ।’
महामन्त्री राणा न्यायसंगत रूपमा पाण्डेलाई थुनामुक्त गरेर अनुसन्धान अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पार्टी नेतृत्वसमक्ष अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘लामो समय सार्वजनिक जीवनमा सक्रिय रहनुभएका नेता पाण्डे देशकै प्रतिष्ठित र अग्रणी व्यवसायी हुनुहन्छ । राष्ट्रिय गौरवका योजनाहरूमा उहाँको संलग्नता रहँदै आएको विदितै छ । देशको अर्थतन्त्र, विकास तथा रोजगारी लगायतका क्षेत्रमा सकारात्मक योगदानका खातिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उहाँ पटकपटक सम्मानित हुनुभएको छ ।’




