काठमाडौँ- फिल्म ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ। प्रमुख कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा फिल्मको पहिलो सट कलाकार हरिवंश आचार्यले दिएका छन् ।
जेठ १५ बाट छायांकनमा जाने फिल्मको सुटिङ सेड्युल ४५ दिनको रहेको छ । धनकुटा, सुनसरी र काठमाडौंका फिल्मको छायांकन हुनेछ । यो फिल्म माघ १ गतेबाट प्रदर्शनमा आउनेछ । गत वर्षको ब्लकबस्टर मुभी ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले ‘चिरञ्जीवी भव’ निर्देशन गर्न लागेका हुन् । यो फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले फिल्म निर्माण गर्न लागेका हुन् ।
यो फिल्ममा हरिवंशसँगै प्रियंका कार्की, सुवर्ण थापा, प्रशंसा रायमाझी, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, हरिस निरौला (कक्रोज), सुमन कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
कुमार कट्टेलले तयार पारेका कथा लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । उमेशकुमार बराल निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माताका रूपमा गजित विष्ट र शैलेश खत्री छन् ।



