काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। रास्वपा सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सभापति लामिछानेले प्रधानन्यायाधीश सिफारिसमा भएको टिकाटिप्पणीबारे आपत्ति जनाएका हुन्।
‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो। कसरी ६-६ जना सिफारिस गरियो? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुने थियो नि संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन। त्यसरी आएकाहरू नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नुभयो। परम्परा भत्काइयो भनिएको छ। यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो,’ सभापति लामिछानेले भने।
उक्त विषयमा आफूमाथि रिस पोख्नेहरूलाई चुनौती पनि दिए। उनले भने, ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ। चलाइदिनुस् हतियार। अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस्। आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ। कागजमा बन्दी न्याय नहोस्।’
त्यसैगरी सभापति लामिछानेले आफूहरू जीवनी लेख्ने नभई इतिहास लेख्ने यात्रामा रहेको बताए। ‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रूपमा अघि सारेको थिएँ। नेताको रूपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन। सरकारमा मन्त्रीका रूपमा रहला प्रधानमन्त्रीको रूपमा रहला त्यो ठूलो कुरा होइन। तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिंदैछौं भन्ने ठूलो कुरा होइन,’ उनले भने।
पार्टीको सभापति, सरकारको प्रधानमन्त्री वा मन्त्री बन्न हिंडेको भन्ने कसैलाई लागेको भए त्यो भ्रम मात्रै भएको उनको भनाइ छ । ‘मलाई जीवनीमा ठूलो इच्छा छैन। जीवनी लेख्नु ठूलो कुरा होइन। हामी इतिहास लेख्ने यात्रामा छौं,’ सभापति लामिछानेले भने।
कायम मुकायम प्रधानन्यायाधीश मल्लले शनिबार विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ-झल्को दिने टिप्पणी गरेकी थिइन्।संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित मर्ने भएपनि विधिको अपेक्षा राख्नेहरूको सपना भंग हुने उनको भनाइ थियो।
‘संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित त मर्ला, तर विधि र विधिसंगतको अपेक्षा राख्नेको सपना भंग हुने तय छ,’ उनले भनेकी थिइन्,‘विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झझल्को पनि दिन्छ। औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता, शासकको स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नका लागि सैह्य हुँदैन।’
यस्ता कार्यमा विधिको शासनविरुद्ध षडयन्त्र गर्नेविरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्ने उनको भनाइ थियो। ‘यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्ने कुरा हो, विधिको शासनविरुद्ध षडयन्त्र गर्नेविरुद्ध उठ्ने आँट,औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्छ,’ भनेकी थिइन्।
गत बिहीबार संवैधानिक परिषद्को बैठकले चौथो वरीयताका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेपछि विभिन्न टिकाटिप्पणी हुँदै आएको छ।



