डिजिटल सदस्यता नवीकरणले कांग्रेसमा नयाँ युगको सुरुवात : डा.डिला संग्रौला

हिमाल प्रेस २७ वैशाख २०८३ १२:१९ | Sunday, May 10, 2026
26
SHARES
डिजिटल सदस्यता नवीकरणले कांग्रेसमा नयाँ युगको सुरुवात : डा.डिला संग्रौला

काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री डा.डिला संग्रौला पन्तले डिजिटल प्रविधिमार्फत क्रियाशील सदस्यता अध्यावधिक गर्ने अभियानले पार्टीको आन्तरिक लोकतन्त्र र व्यवस्थापनमा नयाँ युगको सुरुवात गरेको बताएकी छन्।

नेपाली कांग्रेसको संगठन सुदृढीकरण तथा आधुनिकीकरण अभियानअन्तर्गत मोरङको विराटनगर महानगरपालिका-११ बाट डिजिटल माध्यम प्रयोग गरी क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अगाडि बढेको जानकारी गराउँदै उनले आफूले पनि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गरी ‘कांग्रेस डिजिटल आइडी’ प्राप्त गरेको बताइन्।

उनले आफ्नै निर्वाचन क्षेत्रबाट प्रविधिमैत्री अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै सबै क्रियाशील सदस्यलाई डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्न आग्रह गरिन्।

डा.संग्रौलाले भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै हातहातमा डिजिटल कार्ड पुग्दा कार्यकर्तामा नयाँ ऊर्जा सञ्चार भएको बताइन्। यसले पार्टीको अभिलेखलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास समेत उनले व्यक्त गरिन्।

‘अबको समय सूचना र प्रविधिको हो, त्यसैले पार्टीका हरेक सदस्य समयसापेक्ष रूपान्तरण हुनुपर्छ,’ उनले भनिन्,‘डिजिटल माध्यमबाट अध्यावधिक हुने कार्यमा कोही पनि छुट्नु हुँदैन।’

उनले विराटनगर-११ बाट सुरु भएको अभियानले देशभरका कांग्रेसजनमा सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै आगामी दिनमा पार्टी संरचना अझ गतिशील, चुस्त र प्रविधिमैत्री बन्ने अपेक्षा व्यक्त गरिन्।

प्रकाशित: २७ वैशाख २०८३ १२:१९ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast